वीरगन्ज,९फागुनःबारामा अलपत्र अवस्थामा फेला परेर उद्धार गरिएकी १० बर्षिया एक बालिकालाई सानो पाइला नामक संस्थाले ती बालिकालाई रौतहटस्थित उनको घरमै पुगेर परिवारको जिम्मा लगाएको छ ।
बारामा यहि फागुन ३ गते हात जलेको घाइते अवस्थामा १० बर्षिया बालिकालाई अलपत्र अवस्थामा प्रहरीले फेला पारेपछि उद्धार गरेर माइती नेपालको सहयोगमा सानो पाइलाको जिम्मा लगाएको थियो । सानो पाइलाद्वारा सञ्चालित सानो घरको आश्रयमा राखिएकी बोल्न नसक्ने ती बालिकालाई सानो पाइलाले नारायणी अस्पतालमा लगेर उपचार गराएर आफ्नो संरक्षणमा राखेको थियो ।
त्यसपछि ती बालिकाको ठेगाना र अभिभावकबारे खोजी गरेर पत्ता लागेपछि बिहीबार सानो पाइलाका कर्मचारीहरुले ती बालिकालाई रौतहटको गुजरा नगरपालिकास्थित उनको घरमै पुगेर बुबा–आमाको जिम्मा लगाएको सानो पाइलाका विवेक कर्णले जानकारी दिए । गुजरा नगरपालिकाका जनप्रतिनिधीहरुको रोहबरमा ती बालिकालाई उनका बुबा–आमाको जिम्मा लगाइएको कर्णले बताए ।

