Madhes Khabar
राजनीति हेडलाइन

होटलमा जुठो माँझेर गुजारा चलाउँदै मधेस आन्दोलनका सहिदकी पत्नी विनीता देवी

वीरगन्ज,१४माघःवीरगन्जस्थित नेपाली सेनाको व्यारेकपछाडि होटल लाइनमा रहेको कटेरोमा विनीता देवीले खाना,नास्ता र चिया पसल चलाएकी छन् । ३२ वर्षीया विनीता देवी सहिद पत्नी हुन् ।

पति सोहनप्रसाद गुप्ताले मधेस आन्दोलनका क्रममा २०७२ साउन १५ गते वीरगन्जको नगवामा सहादत प्राप्त गरेपछि आफ्नो जीवनको रथको पांग्रा एक्लै घिस्रिरहेको उनले सुनाइन् । ‘उहाँ हुँदा दुवै मिलेर होटल चलाउँथ्यौं,’ उनले भनिन्, ‘पेट पाल्नै प¥यो । एक्लै भए पनि भ्याइनभ्याइ होटल चलाइरहेकी छु ।’

आफ्नो फुसको छाप्रो साढे तीन वर्षअघि आएको हुरीले उडाएपछि होटेलनजिकै डेरा लिएर बस्नुपरेको उनले सुनाइन् । खिरिएको ज्यान, मलिन अनुहार र धँसेका आँखाले उनको अन्तरपीडा मज्जाले बोलिरहेको अनुमान लगाउन सकिन्छ ।

सानो होटलसंगै दुई नाबालक सन्तानलाई हुर्काउन र पढाउनमा आफ्नो जीवन समर्पित गरिरहेकी यी कर्मवीर आमाले छोराहरूलाई उच्च शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सपना साँचेकी छिन् । ‘बुवाको अनुहार पनि सम्झना नभएका टुहुरा सन्तानलाई सक्दो पढाएर ठूलो मानिस बनाउने मेरो सपना छ,’ उनले भनिन्, ‘त्यसैले दिनरात नभनी शरीर घोटिरहेकी छु ।’ आफ्ना दुवै छोरालाई मिनिल्याण्ड स्कुलले निःशुल्क पढाइदिएको उनले बताइन् ।

पति सहिद भएपछि सरकारले दिएको १० लाख र त्यसपछि २ पटक सहिद दिवसमा पाएको क्रमशः २ र ३ लाख रुपैयाँले नगवामै ५ धुर घडेरी किनेको उनले बताइन् । ‘त्यो घडेरीमा २ कोठाकै भए पनि एउटा सानो घर बनाउने सपना छ,’ उनले भनिन्, ‘अहिले त घर बनाउने कुरा पनि सपना नै जस्तो लाग्छ । मेरो पालामा नभए पनि छोराहरू पढेर कमाउने भएपछि त बनाउलान् नि !’

विगतमा आन्दोलनको समयमा सहिद परिवारको सोधखोज हुने गरे पनि अचेल सहिद परिवारलाई सम्झेर कोही पनि नआउने गरेको गुनासो विनीताको छ । ‘पहिले बलिदानी दिवस वा सहिद दिवसको दिन भएपनि वर्षमा एकपटक हामीजस्ता सहिद परिवारलाई बोलाएर बलिदानी दिवस मनाउने गरिन्थ्यो,’ उनले भनिन्, ‘यस वर्ष त बलिदानी दिवसमा हामीलाई सम्झिँदा पनि सम्झिएन ।’

मधेस सरकारले सहिद परिवारलाई जागीर दिने भनिएपनि आँफुलाई अनेक तानाबान बुनेर बञ्चित पारिएको गुनासोपनि उनको छ । उनले भनिन्,‘ २०७४ को चुनावमा मलाई अनेक लालच दिएर पार्टीले वडासदस्य बनाइदियो त्यहि कारण मैले जागीर पाउन सकिन । त्यसपछि २०७९ को निर्वाचनमा आँफु वडाध्यक्षको आकांक्षी हुदाँ नेताहरुले रकम लेनदेन गरेर टिकट नै नदिएको आरोप उनको छ ।

विनिताले भनिन्,‘ एक त वडासदस्य बनाएर मलाई जागीरुबाट बञ्चित पारे । त्यसपछि २०७९ को चुनावमा वडाध्यक्षमा लड्छु भने तर जसपाका नेताहरुले मलाई टिकट नै दिएनन् । जो धनीमानी थियो उसैलाई टिकट दिए ।सहिद परिवारको कुनै कदर नै गरेनन् ।
पार्टीले टिकट नदिएपछि आँफु विवेकशील साझा पार्टीको चुनाव चिन्ह लिएर वडाध्यक्षमा चुनाव लडेको भएपनि पराजित भएको उनले बताइन् ।
विनिताले भनिन्,‘ यहाँ न त सहिद परिवारको कदर छ । न सहिदले जे कुराको लागि ज्यानको बलिदानी दिए त्यो बलिदानीको नै कदर छ । पार्टी र नेताहरुलाई सत्ता र कुर्सीमात्रै चाहिएको छ ।’

उनले भनिन् ,‘आफनै घर भइ दिएको भए कोठाको भाडा तिर्नु पर्दैन्थ्यो । त्यो पैसाले बच्चाहरुलाई अझ राम्रो स्कुलमा पढाउन सकिन्थ्यो होला ।यदि मेरा पतिले मारिनु भन्दापहिले यो सानो होटल नचलाइदिएको भए आज दुई नाबालक छोराहरुको पेटमा माड लगाउनपनि गाह्रै हुन्थ्यो होला ।’

आन्दोलनका घाइते तथा सहिद परिवारको संरक्षणमा लामो समयदेखि सक्रिय रहेका सामाजिक अभियन्ता प्रकाश थारु सहिद–पत्नी विनीता र उनको परिवारको तत्कालको आवश्यकता टाउको ओत लगाउने एउटा घर रहेको बताउँछन् ।

‘एकातिर सहिद–पत्नी जुठा भाँडा माझेर जीवन गुजारा गर्दैछिन्, अर्कोतिर उनको परिवार घरविहीन छ,’ उनले भने, ‘यो भन्दा ठूलो लज्जास्पद कुरो के नै होला, तैपनि हामी केही अभियन्ताहरूको टोली सहिद परिवारलाई एउटा सानै भए पनि घर बनाइदिन लागिपरेका छौं, हेरौं कहिलेसम्म सफलता मिल्छ ।’

Related posts

देशमा सुशासन स्थापना गर्न जसपा-एमाले गठबन्धनको जित आवश्यक : प्रदीप यादव

MadhesKhabar

वीरगन्ज महानगरको कार्यालय सन्चालनका लागि बैंकहरुद्वारा ९ थान कम्प्युटर सहयोग

MadhesKhabar

मधेस खबरकी सम्पादक माधुरी महताे फाेटाे पत्रकार महासंघकाे उपाध्यक्षमा चयन

MadhesKhabar

Leave a Comment