वीरगन्ज,१९पुसःपर्साको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारु देशभरिकै पालिकाहरुबाट छनौट भएका महिला जनप्रतिनिधी मध्ये उत्कृष्ट ६ मा पर्न सफल भएकी छन् ।‘सि लिड्स आइकन’का लागि देशभरीबाट छनौट भएका २७ जनामध्ये उत्कृष्ट ६ मा पर्न महत्तो सफल भएकी हुन् ।
कल्प इम्पावरमेन्ट वुमेन नेपालले आह्वान गरेको ‘सि लिड्स आइकन’का लागि देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ४० पालिकाका महिला जनप्रतिनिधी (पालिका अध्यक्ष र उपाध्यक्ष) ले आवेदन दिएका थिए । तीमध्ये पालिकाले गरेको भौतिक विकास, सुशासन, महिलाको शिक्षा,स्वास्थ्य र सशक्तिकरणका क्षेत्रमा निर्वाह गरेको भूमीकाको मूल्यांकन गरेर २७ जना छनौट भएकोमा ती मध्येपनि उत्कृष्ट ६ जनामा पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष महत्तो पर्न सफल भएकी हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट ६ जनामा पर्न सफल महत्तोसहितका महिला जनप्रतिनिधीहरुलाई दोशल्ला ओढाउनुका साथै प्रमाणपत्र प्रदान गरेर सम्मानित गरे ।

