काठमाडौं,४कार्तिक:कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ ।
लगातार तेस्रो जितसँगै नेपाल सिरिजमा एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ ।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।
नेपालको सुरुवात भने राम्रो थिएन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल मात्र २ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि मात्र ८ रनमै आउट भए । त्यसपछि आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाउँदा नेपालको स्कोर ५५/४ थियो ।
तर, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरे । दुवैले पाँचौं विकेटका लागि १४५ रनको साझेदारी गरे ।
टी-२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो । यसअघि न्युजिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध पाँचौ विकेटका लागि अविजित १२१ रनको साझेदारी गरेका थिए ।
कीर्तिमानी साझेदारी गर्ने क्रममा मल्ल शतक नजिक पुगे भने ऐरीले अर्धशतक बनाए । ३० बलमा ५० रन पूरा गरेका ऐरी १९औं ओभरको अन्तिम बलमा ५७ रनमा आउट भए । ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका हानेका थिए ।
मल्ल भने ८ रनले शतक बनाउन चुके । शतकका लागि उनलाई ८ रन चाहिएको थियो र २ बल बाँकी पनि थियो । तर बाउन्ड्री हान्ने प्रयासमा मा उनी आउट भए । ४१ बलको सामना गरेका उनले ९ वटा छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए ।

