Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सा : लंगडी स्वास्थ्य चौकीको ल्याबमा भोल्टेजको समस्याले लाखौंका उपकरण प्रयोग विहीन

वीरगन्ज,७कार्तिकःपर्साको धोबिनी गाउँपालिका–४ लंगडीस्थित स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला(ल्याब)मा आवश्यकता बमोजिम विद्युत् आपूर्ति नहुँदा ३८ लाख रुपैयाँ बराबरका आधुनिक उपकरण साढे दुई वर्षदेखि प्रयोगविहीन बनेका छन् ।

कलेजो, मिर्गौला, लिपिड प्रोफाइल परीक्षणका लागि आउने बिरामी मेसिन नचल्दा मर्कामा परेका हुन् । रगत परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।मधेस सरकारले उपलब्ध गराएको बायोक्यामेस्ट्री एनलाइजर मेसिन (लिभर, किडनी र लिपिड प्रोफाइल परीक्षण गर्ने) तीन फेजको विद्युत् लाइन नहुँदा साढे दुई वर्षदेखि थन्किएको हो ।

हाल प्रयोगशालामा मात्र दुई फेजको लाइन जडान गरिएको छ । ‘मेसिन चलाउनका लागि २०० भन्दा माथिको भोल्टेज आवश्यक पर्छ,’ स्वास्थ्य चौकीका एक प्राविधिक भन्छन्, ‘तर, प्रयोगशालामा १३० भोल्ट विद्युत् मात्र प्रवाह हुन्छ । भोल्टेज नपुगेर प्रयोगशालाभित्रको एसीसमेत चलेको छैन ।’ अन्य मेसिनलाई ‘हिट’ हुन नदिन ४ वटा पंखा जडान गरिएको छ ।

२०७९ वैशाख १९ मा सञ्चालनमा आएको प्रयोगशालाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी, मेसिन र त्यसमा प्रयोग हुने केमिकल्स उपलब्ध गराएको थियो । तर, गाउँपालिका कार्यालयले आवश्यक विद्युतको आपूर्तिका लागि पहल नगरिदिँदा मेसिन प्रयोगविहीन बनेको हो । लंगडी निवासी लालबाबु बनियाले जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा समेत गाउँपालिका संवेदनशील नरहेको बताए । ‘विद्युत् आपूर्तिका लागि पटक–पटक निवेदन दिंदा पनि सरोकारवाला निकायले चासो दिएका छैनन्,’ बनियाले भने, ‘जनताले सास्ती खेपेका छन् ।’

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्जय यादवले उक्त क्षेत्रमा तीन फेज लाइन जडान भएपछि समस्या समाधान हुने बताए । तीन फेज लाइन जडानका लागि ५ लाख रुपैयाँ छुट्याइएको उनले खुलाए । ‘गत आर्थिक वर्षमा पनि तीन फेज लाइनका लागि बजेट विनियोजन गरिएको थियो,’ स्वास्थ्य प्रमुख यादवले भने, ‘तर, जडान गर्न सकिएन । यसपालि फेरि ५ लाख रुपैयाँ छुट्याइएको छ, छठ पर्वपछि जडान हुन्छ ।’ भुषण यादव/कान्तिपुर

Related posts

पर्साको धोबिनी गाँउपालिकाका स्वास्थ्य संस्थाहरुमा छैन औषधि, बिरामी र सेवाग्राही मर्कामा

MadhesKhabar

मधेसका सरकारी अस्पतालहरूमा सुधारका लागि मुख्यमन्त्री सिंहले मन्त्री र सचिवसंग गरे छलफल

MadhesKhabar

जथाभावी पार्किङ र फुटपाथ अतिक्रमण हटाउँदै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment