Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज कृषि औजार कारखाना रहेको पर्सामा महावीर पुनको किताब २ हजार थान बिक्री

वीरगन्ज,२९भदौंःवीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक सहयोग जुटाउनका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको आत्मकथा लेखिएको किताब पर्सामा करिब २ हजार थान बिक्री भएको छ । वीरगन्जसहित पर्सा जिल्लाको विभिन्न स्थानमा गरी ९ दिनको अवधिमा १ हजार ९ सय ९४ थान किताब बिक्री भएको हो। त्यसबापत १४ लाख ९५ हजार ५ सय रुपैयाँ संकलन भएको केन्द्रका अध्यक्ष पुनका सहयोगी हिरा पुनले जानकारी दिए ।

दुई दशकदेखि बन्द वीरगन्ज कृषि औजार कारखाना पुन सञ्चालनका लागि आवश्यक रकम सरकारले सम्झौता गरेरपनि नदिएपछि आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफैंले लेखेको किताब बिक्री गरेर उक्त रकम जुटाइ रहेका छन् ।

किताब बेच्न देश दौडाहामा रहेका पुन भदौं २० गते पर्साको वीरगन्ज आइपुगेका थिए । भदौं २० देखि भदौं २८ गतेसम्म वीरगन्जसहित पर्सा जिल्लाका विभिन्न पालिकामा पुग्दा १ हजार ९ सय ९४ थान किताब बिक्री गरेको अध्यक्ष पुनले बताए ।

पुनको किताब बिक्रीका लागि वीरगन्जका सचेत युवाहरुको एक समुहले विभिन्न कार्यालय र संघसंस्थामा अध्यक्ष पुनलाई संगै लिएर हिडेको थियो ।

वीरगन्ज कृषि कारखाना रहेको पर्सा जिल्लामा झण्डै दुई हजार थान किताब बिक्री हुनु सन्तोषजनक नै रहेको अध्यक्ष पुनका सहयोगी हीरा पुनले बताए । उनले भने,‘कुनैपनि ठाँउमा यति नै किताब बिक्नुपर्छ भनेर हामीले टार्गेट राखेका छैनौं । यो सहयोगको कुरा हो ।कुनै जोरजबरजस्ति छैन । वीरगन्न्ज र पर्साका मानिसले हाम्रो यो अभियानमा राम्रै साथ दिएको पाइयो ।’

उनका अनुसार, किताब बिक्री गर्न अध्यक्ष पुन आइतबारदेखि पर्साको छिमेकी जिल्ला बाराको सदरमुकाम कलैया पुग्ने कार्यक्रम छ ।

पुनका अनुसार, किताब बिक्री गर्ने अध्यक्ष महावीर पुनको देश दौडाहा अभियान अन्तर्गत अहिलेसम्म रुपन्देही जिल्लामा सबै भन्दा बढी १७ हजार थान बिक्री भएको छ । किताब बेच्न देश दौडाहा अभियान सुरु गरेको शनिबार २ सय २२ दिन भएको भन्दै अध्यक्ष पुनले हालसम्म १ लाख ३२ हजार थान किताब बिक्री भइसकेको र त्यसबाट ९ करोड ९० लाख रुपैयाँ संकलन भएको बताए ।

उनले भने,‘अहिलेसम्म पर्सासंगै ३५ जिल्ला पुगिसके । अब बाँकी ३२ जिल्लामापनि पुग्छु । कूल ३ लाख थान किताब छापेको छु त्योसबै बेच्ने लक्ष्य छ ।’

सोभियत संघ रुसको सहयोगमा विक्रम संवत २०२१ सालमा स्थापित सरकारी स्वामित्वको वीरगन्ज कृषि औजार कारखाना निरन्तर घाटामा गएको भन्दै सरकारले २०५९ सालमा पूर्णा रुपमा बन्द गरिदिएको थियो । दुई दशकदेखि बन्द उक्त कारखाना पुन चलाउनका लागि भन्दै सरकारले २०७९ भदौं ३१ मा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गर्यो ।

त्यसपछि आविष्कार केन्द्र र अर्थ मन्त्रालयबिच २०७९ असोज ११ गते भएको सम्झौता भयो । उक्त सम्झौतापत्रमा काारखानाको मर्मतसम्भार लगायतका कामका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले आविष्कार केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख थियो । कारखाना पुन सञ्चालनका लागि विकल्प सुझाउन कृषि मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा कारखाना मर्मतसम्भार गरी पुन सञ्चालनमा ल्याउनका लागि ३० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गरिएको थियाोे ।

तर अर्थ मन्त्रालयले आावश्यक बजेट दिन चासो नै नलिएपछि आविष्कार केन्द्रका अध्यक्ष पुनले आवश्यक रकमको जोहो गर्न आँफै अगाडि सर्दै आफनो आत्मकथा लेखेको पुस्तक बेच्न २०८० पुषदेखि देश दौडाहा अभियान सुरु गरेका हुन् । उनले भने,‘ सरकारको मुख ताकेर म बसिन ।सरकारले अहिलेसम्म १ रुपैयाँपनि दिएकोे छैन ।मन्त्रालयमा धाएर चाकडी गर्नुभन्दा बरु आफनै किताब बेचेर त्यति रकम जुटाउँछु भनेर हिडेको छु।’अध्यक्ष पुनले अहिलेसम्म कारखानाको मर्मत सम्भारमा आविष्कार केन्द्रको झण्डै साढे २ करोड रुपैयाँ खर्च भइसकेको जानकारीपनि गराए ।

आविष्कार केन्द्रले कारखाना जिम्मा लिएको २३ महिनामा कारखानामा रहेका पुराना उपकरण र मेशिनहरु मर्मत सम्भार गरे हालसम्म १० किसिमका कृषि औजारहरु परीक्षणका रुपमा उत्त्पादनपनि गरिसकेको पुनले बतााए ।

 

Related posts

काँग्रेसकाे समानुपातिक उम्मेदवार : केन्द्रीय नेता देखि पत्नी , बुहारी र भान्जी सम्म (सूची सहित)

MadhesKhabar

पर्सा–बारामा पर्ने गण्डक नहरका संरचना जीर्ण हुदँँ बढ्यो दुर्घटनाको जोखिम

MadhesKhabar

चैते धानबालीका लागि ३० हजार मेट्रिक टन युरिया मल एक सातामा आउदै

MadhesKhabar

Leave a Comment