
बारा,५कार्तिक:सरकारले बाराकाे सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा थप १५ वटा उद्योगलाई उद्योग स्थापना गर्न अनुमति र जग्गा प्रदान गरेको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साेमबार सार्वजनिक गरेकाे सय दिने कार्यप्रगति विवरणमा उक्त कुरा उल्लेख गरेको छ।
सिमरा सेजमा थप १५ वटा उद्योग स्थापना गर्न जग्गा(प्लट) प्रदान गरिएको र ती उद्योगहरूबाट कूल ६ सय ८४ करोड लगानी र एक हजार दुई सय ८७ जनाका लागि रोजगारी सिर्जना गर्ने प्रतिवद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ। ती उद्योगमध्ये सातवटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौतासमेत गरिसकिएको उद्योग मन्त्रालयले जनाएको छ।
यस्तै भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मापनि १० वटा उद्योगलाई उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरिएकाे मन्त्रालयले जनाएको छ। ती उद्योगबाट तीन सय ४४ करोड लगानी र तीन हजार पाँच सय २३ जनाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएकाे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
वर्तमान सरकार गठन भएको एक सय दिनका अवधिमा भैरहवा सेजमा थप दुई वटा उद्योगले उत्पादन सुरु गरेका छन्। प्लट प्राप्त गरेका ३ वटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।

