वीरगन्ज,०३कार्तिक :संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बाराको बरियारपुरमा लाग्ने विश्वप्रसीद्ध पञ्चवर्षिय गढीमाई मन्दिरमा आउने दर्शनार्थी र भक्तजनहरुका लागि शुद्ध खानेपानीको प्रबन्ध मिलाउन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरमा अवस्थित गढीमाई मन्दिरमा मंसिर दोश्रो सातादेखि पञ्चवर्षिय मेला लाग्दैछ ।पञ्चवर्षिय गढीमाई मेला पशु बलीका लागि विश्वमै प्रसिद्ध छ ।
शनिबार बिहान बरियापुरस्थित गढीमाई मन्दिरको दर्शनगरेपछि मेलाको लागि भइरहेको तयारी बारे स्थगलत अवलोकनपनि मन्त्री यादवले गरे ।स्थलगत अवलोकनपछि मन्दिर परिसरमै आयोजित कार्यक्रममा मन्त्री यादवले गढीमाई मेलामा आउने दर्शनार्थी र भक्तजनहरुको सुविधाका लागि शुद्ध खानेपानी र शौचालयको उचित प्रबन्ध मिलाउन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिए ।
खानेपानी मन्त्रालयका कर्मचारीसमेत सहभागी कार्यक्रममा मन्त्री यादवले आगामी मंसिर दोश्रो सातदेखि लाग्न गइरहेको गढीमाई मेलाको तयारी बारे मेला मूल आयोजक समिति र मन्दिर सञ्चालन समितिका पदाधिकारीहरुसंग जानकारीपनि लिए ।मन्त्री यादवले पञ्चवर्षिय गढीमाई मेलामा देशविदेशबाट लाखौँ श्रद्धालु र भक्तनहरु आउने भएकाले उनिहरुले गर्ने दर्शन र यात्रामा कुनै असुविधा नहुने गरी प्रबन्ध मिलाउनुपर्नेमा जोड दिए।
यसअघिको पञ्चवर्षिय गढीमाई मेलामा खानेपानी र शौचालयको अभावले दर्शनार्थी र भक्तजनहरुले समस्या खेप्नु परेको गुनासो आएको स्मरण गराउँदै मन्त्री यादवले भने,‘विगतकोबाट पाठ सिकेर यसपालिको मेला त्यस्तो समस्या नहोस् भनेर हामीसबै समयमै लाग्नुपर्छ ।त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तत्पर छ ।’
गढीमाई मेलामा आउने दर्शनार्थी र भक्तजनहरुको सेवासुविधाका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरूसँग मन्त्रालयले समन्वय गरी समयमै उचित र भरपर्दो व्यवस्थापन मिलाउने प्रतबद्धतापनि उनले जनाए ।गढीमाई मेलामा आउने प्रत्येक श्रद्धालु र दर्शनार्थीको सुविधा सुनिश्चित गर्न नेपाल सरकारपनि प्रतिबद्ध रहेको उनले बताए ।
कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य किसान श्रेष्ठ, पूर्व सांसद प्रमोद गुप्ता,गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव ,जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा,मेला आयोजक समितिका पदाधिकारीका साथै स्थानीय अगुवाहरुकोपनि उपस्थिती थियो ।

