वीरगन्ज,२५भदौंःमधेस प्रदेश सरकारको हस्तक्षेपका कारण यातायात व्यवस्था कार्यालय वीरगन्जले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सकेको छैन । भदौ १३ र १४ मा लिने गरी तयारी गरिएको लिखित र प्रयोगात्मक परीक्षा अहिलेसम्म हुन सकेको छैन ।
मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालय जनकपुरधामले गत भदौ १२ मा वीरगन्ज यातायात कार्यालयलाई पत्राचार गरी लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन गर्न आदेश दिएको थियो । यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कमलराज गौतमले गत विगत ९ दिनदेखि लिखित र ट्रायल(प्रयोगात्मक) परीक्षा स्थगित रहेको बताए ।
श्रम तथा यातायात मन्त्रालयको अनुमतिविना कुनै वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न÷नगराउन आदेश आएकाले भदौ १६ देखि सञ्चालन हुने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु अर्को आदेश प्राप्त नभएसम्मको लागि स्थगन गरिएको उनको भनाइ छ ।
प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत सुनिल कुमार शाहले पठाएको पत्रमा भदौ १३ र १४ मा लिइने लिखित परीक्षा र प्रयोगात्मक परीक्षा पश्चात यस मन्त्रालयको अनुमतिविना कुनै वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न÷नगराउन उल्लेख छ । शाहका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान विभागले मन्त्रालयमा पत्राचार गरेपछि लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गराउन आदेश गरिएको हो ।
‘प्रयोगात्मक परीक्षा (ट्रायल)को छानबिन गर्नुपर्ने भएकाले वीरगन्ज यातायातको परीक्षा बन्द गराउन अख्तियारको पत्र आएको छ,’ शाहले भने, ‘अख्तियारकै पत्रको आधारमा हामीले वीरगन्ज यातायातलाई पत्राचार गरेका हौँ ।’ ट्रायल परीक्षा छानबिनको क्रममा रहेकाले बन्द गर्न आदेश दिइएको हो । वीरगन्जबाट कसैले अख्तियारमा उजुरी गरेको शाहले खुलाए ।
प्रदेश सरकारले अख्यितारका कारण लाइसेन्स वितरण प्रक्रिया स्थगन गरेको जिकिर गरेपनि अख्तियारबाट हालसम्म कुनै छानबिन नभएको यातायात कार्यालय स्रोतको दाबी छ । ‘ट्रायल परीक्षा छानबिन सम्बन्धमा अख्तियारबाट यातायात व्यवस्था कार्यालय वीरगन्जमा हालसम्म कुनै पत्र आएको छैन । छानबिनका लागि न त कोही अख्तियारबाट आएका छन्,’ नाम उल्लेख नगर्ने शर्तमा वीरगन्ज यातायातका एक शाखा अधिकृत भन्छन्, ‘न त ट्रायल परीक्षा सम्बन्धी कागजात अख्तियारबाट माग नै भएको छ ।’
पुराना कर्मचारीका अनुसार यसअघि अख्तियारमा थुप्रै पटक उजुरी परे । तर, उजुरीकै आधारमा लिखित र ट्रायल परीक्षा स्थगित गरिएको यो पहिलो पटक हो । प्रदेश सरकारको अनावश्यक हस्तक्षेपका कारण मारमा परेको सेवाग्राहीले गुनासो गरेका छन् ।
पर्साको वीरगन्ज सहित अहिले मधेस प्रदेशको आठवटै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएका छन् । सबै कार्यालयले सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्ष लिने र उत्तीर्ण भएकालाई लाईसेन्स वितरण गर्ने गरेका छन् ।भुषण यादव/कान्तिपुर

