
वीरगन्ज, २६ जेष्ठ : वीरगन्ज महानगरपालिकाले वडा नम्वर २२ र २३ का विभिन्न स्थानमा सार्वजनिक ऐलानी जग्गा अतिक्रमण गरेर निर्माण गरिएको संरचना शुक्रबार डोजर लगाएर हटाइएको छ ।
महानगरले वडा नम्वर २२ जगरनाथपुरमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको संरचना हटाउँदै उक्त जग्गामा सडक निर्माणको कार्य अघि बढाएको छ । सडकको जग्गा मिचेर बनाइएको संरचना हटाउँदै सडक फराकिलो बनाइएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले बताए ।
यस्तै शुक्रबारनै वडा नम्वर २३ सबैठवामा पनि अतिक्रमण गरेर निर्माण गरिएको संरचना हटाइएको छ ।महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा अहिले महानगरका ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने अभियान नै चलेको छ । त्यही अनुसार शुक्रबार एकै दिन २ वटा वडामा अतिक्रण गरेर निर्माण गरिएका संरचना हटाइएको हो ।
अतिक्रमण हटाउन नापजाँच गरेर पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि शुक्रबार महानगरको टोलीले आफैं डोजर लगाएर अतिक्रमण हटाएको हो ।
अतिक्रमण हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको सहभागीता थियो ।

