Madhes Khabar
स्थानिय

पर्सा राष्ट्रिय निकुञ्जभित्र हतियारसहित प्रवेश गर्ने ६ जना पुर्पक्षका लागि थुनामा

बारा,७पुषः पर्सा राष्ट्रिय निकुञ्जले बिना अनुमति हातहतियार, भरुवा बन्दुक सहित निकुञ्जभित्र प्रवेश गर्ने र सतिसालको रुख काट्ने ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले निकुञ्जको कोर क्षेत्रभित्र अनुमति बिना हातहतियार, भरुवा बन्दुक र अन्य बन्दोबस्तीको सामानसहित प्रवेश गरेको कसुरमा २ जना र सतिसालको रुख कटान गरेको अभियोगमा ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

निकुञ्जले हेटौँडा उपमहानगर वडा नंबर १३ का तिलकबहादुर थिङ्ग र वडा नंबर १४ कालोपानी बस्ने राजीव घलानलाई भरुवा बन्दुक र हतियारसहित निकुञ्ज प्रवेश गरेको अभियोगमा नियन्त्रणमा लिएर पुर्पक्षका लागि थुनामा पठाएको हो । उनीहरुलाई भरुवा बन्दुक २ थान, फलामे छर्रा (गोली), बारुद र अन्य बन्दोबस्तीका सामान निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका थिङ्ग र घलानलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, दफा २६ उपदफा (६) अनुसार धरौटी बुझाउन नसकेपछि शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएको निकुञ्जका रेन्जर जयराम न्यौपानेले बताए ।

यसकासाथै निकुञ्जको सिकारी पोस्टबाट खटिएको कर्मचारी र नेपाली सेनाको अर्को टोलीले अवैध रूपमा सतिश सालको रुख कटान गरिरहेको अवस्थामा ८ वटा गोलिया, ३ थान बन्चरो, १ थान आरा, टर्चलाइट र गोलाइ नाप्ने फित्तासहित ४ जनालाई नियन्त्रणमा लिएको थियो । साल प्रजातिको रुखमध्ये सतिसाल सबैभन्दा मूल्यवान् मानिन्छ । यो दुर्लभ वनस्पति अन्तर्गत पर्दछ ।

सतिसालको गोलाइसहित पर्साको जिराभवानी गाउँपालिका वडा नंबर १ का सहदेव सकुल , त्यही ठाउँका हिरालाल मुखिया बिन , आसदेव मुखिया र जितेन्द्र मुखियालाई नियन्त्रणमा लिएर प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको इजलासले शुक्रबार नै पुर्पक्षका लागि थुनामा पठाउन फैसला गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ती चारजनालाईपनि वीरगन्ज कारागार पठाइएको निकुञ्जले जनाएको छ । साभार : रातोपाटीबाट

Related posts

बाल दिवसको कार्यक्रममा मेयर सिंहले भने : बालबालिकाको शिक्षा र स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता

MadhesKhabar

वीरगन्जको पानीटङ्कीस्थित एक घरबाट लाखाैंकाे मालसामान चाेरी

MadhesKhabar

तस्करी गरी वीरगन्जमा ल्याइएका ५१ लाख भन्दा बढीकाे कम्प्युटर र ल्यापटप प्रहरीद्वारा बरामद 

MadhesKhabar

Leave a Comment