वीरगन्ज,१९असारःपर्सामा पर्ने नेपाल–भारत सीमाको दशगजामा २३ दिनपहिले मृत अवस्थामा भेटिएका दुई व्याक्तिको हत्या अन्धविश्वासमा परेर आफन्तले नै गरेको रहस्य खुलेकोे छ ।
नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा पर्ने पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ स्थित ओरिया खोलामा गाडिएको अवस्थामा गत जेष्ठ २९ गते बाराको कलैया उपमहानगरपालिका वडा नम्बर –६ का ६० वर्षीय रामएकबाल पडित कुम्हार र बाराकै आदर्शकोतवाल गाउँपालिका–७ घर भई हाल कलैयामा बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको थियो । सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त गस्ततीका क्रममा दुवै शव फेला परेका थिए । मृतक मध्ये दुवै जना झारफुक गर्ने धामीझाँक्रीको काम गर्ने व्याक्ति थिए ।
उनिहरुको हत्यामा संलग्न मध्येका तीन जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।हत्यामा संलग्न मध्येका मृतक रामएकबालका भतिज बाराको कलैया–५ का ३३ बर्षिय लक्ष्मण प्रजापति कुम्हार, ज्वाँई पर्साको जगरनाथपुर– ५ का ३२ बर्षिय सन्तोष कुम्हार र जगरनाथपुर– ५ कै महादेव महत्तो नुनियालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेका तीनै जना हत्याको मुख्य योजनाकार रहेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
हत्या किन र कसरी गरियो ?
मृतक मध्येका रामएकबालले गाँउघरमा झारफुक गर्ने धामी झाँक्रीको काम गर्दै आएका थिए । उनको औषधि पसलपनि थियो । यस्तै अर्का मृतक सुरेशलेपनि झारफुक गर्ने धामी झाँक्रीको काम गर्दै आएका थिए । रामएकबाल र उनका भतिज लक्ष्मणबिच जग्गाको विवादपनि अदालतमा चल्दै आएको छ ।
झारफुक गरेर धामी झाँक्रीको काम गर्दै आएका रामएकबालले तन्त्रमन्त्र गरेर आफनो घरपरिवारमा हानी पुरयाएको रिसमा उनका भतिज लक्ष्मण र जवाँइ स्न्तोष दुवैले मिलेर रामएकबालको हत्याको योजना बनाएका थिए ।
त्यहि योजना अनुसार दुवै जनाले एक जनाको झारफुक गर्नुछ भनेर रामएकबाल र सुरेशलाई पर्साको जगरनाथपुर गाँउपालिका १ बिसुनपूर्वास्थित ओरिया खोलामा जेष्ठ २५ गते राति बोलाएका थिए ।त्यहिदिन साँझ बाराको कलैयाबाट बस चढेर वीरगन्जको पावरहाउस चोक आइपुगेका रामएकबाल र सुरेश त्यहाँबाट गाडी चढेर पर्साको विन्दबासीनी चोक पुगेका थिए ।विन्दबासीनी चोकबाट ती दुवै जनालाई एक जना व्याक्ति (हत्यामा संलग्न ) ले आफनो मोटरसाइकलमा राखेर बिसुनपूर्वास्थित ओरिखोला (घटनास्थल) मा राति पुरयाएका थिए ।
ओरिया खोलाको दशगजा क्षेत्रमा राति पुगेकै बेला त्यहाँ लक्ष्मण र सन्तोषले हत्या गर्नका लागि ८ लाख रुपैयाँ (सुपाडी)दिएर खटाएका व्याक्तिहरुले गम्छाले दुवै जनाको घाटीमा बेरेर घाँटी थिचेर हत्या गरेको र शव बालुवामा गाडेर फरार उनिहरु भएको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक भारतीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
हत्यामा अहिले पक्राउ परेका तीन जना योजनाकार रहेको भन्दै प्रहरी नायब उपरीक्षक भारतीले भने,‘ आठ लाख रुपैयाँ सुपाडी लिएर हत्या गर्ने मान्छेहरु अरु नै छन् । उनिहरुको पहिचान भइसकेको छ । घर छाडेर फरार रहेकाले उनिहरु अहिलेसम्म पक्राउ परिसकेका छैनन् ।प्रहरीले उनिहरुकोे खोजी गरिरहेको छ ।’
हाल पक्राउ परेका तीनै जनालाई भने प्रहरी हिरासतमा राखेर उनिहरु विरुद्ध ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

