Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालको आकस्मिक कक्ष अस्तव्यस्त :डाक्टर र बेड अपुग हुदाँ बिरामीलाई सास्ती

वीरगन्जको नारायणी अस्पतालमा हाल सञ्चालनमा रहेको आकस्मिक कक्ष ।तस्बिर : क्रान्ति शाह,वीरगन्ज

वीरगन्ज,२३भदौंःवीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर दीपक चौरसिया भन्छन्,‘भनेका बेला बिरामीको बेडमा पुग्न नसक्दा कुरुवाबाट गाली सुन्नुपर्छ ।कहिलेकांही त हातपातमै पनि उत्रिन्छन् । गाली बेइज्ज्ती सुनेर बिरामीको उपचार गर्न विवश छौं हामी ।’

नारायणी अस्पतालको आकस्मिक कक्षमा २८ बेड मात्र छ । तर उपचार गर्न आउने बिरामीको संख्या दैनिक औसतमा ३ सय बढी रहेको अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हक बताउँछन् ।यस्तै आकस्मिक कक्षमा खटिने स्वास्थ्यकर्मीको संख्यापनि बिरामीको संख्याको अनुपातमा निक्कै अपुग छ।जसका कारण आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीले आवश्यक उपचार समयमै नपाउँदा बिरामीका कुरुवाबाट चिकित्सकहरु दुव्र्यवहार खेप्न बाध्य रहेको डाक्टर चौरसिया बताउँछन् ।

उनी भन्छन्,‘इमर्जेन्सी वार्डमा बिरामीको चाप यति धेरै छ कि एउटै बैडमा दुई जनासम्म बिरामी सुताएर उपचार गर्नुपरिरहेको छ।कतिपय बिरामी त बेड नपाएर आँफै अन्त जान्छन् ।बेड नपउँदा कुरुवाले हामीलाई तथानाम गाली सुनाउँछन्।’

आकस्मिक कक्षमा जनशक्ति थप्न अस्पताल प्रमुखलाई पटक पटक ध्यानाकर्षण गराउँदापनि कुनै सुनुवाइ नभएको उनि बताउँछन् । उनी भन्छन्,‘अहिलेका मेसु आउनु बित्तिक्कै ४७ जनालाई हटाइदिए। एक त पहिलेदेखि नै जनशक्तिको कमी थियो । त्यसमा झन् मेसुले भएकै जनशक्ति हटाइदिए ।अहिले त झनु बिजोग छ।’आकस्मिक कक्षमा जनशक्ति थप्न मेसु हकलाई पटक पटक आग्रह गर्दापनि वास्तै नगरेको गुनासो उनको छ ।

निमित्त मेसु हकका अनुसार, आकस्मिक कक्षमा तीन सिफ्टमा गरेर स्वास्थ्यकर्मी खटिन्छन् । बिहानी सिफ्टमा २ जना , दिउँँसोको सिफ्टमा १ जना र रात्री सिफ्टमा १ जना चिकित्सक खटिन्छन्।यस्तै तीन वटै सिफ्टमा २÷२ जना परामेडिकल स्वास्थ्यकर्मीपनि खटिन्छन् ।

यो जनशक्ति बिरामीको चापको अनुपातमा निक्कै अपुग भएको निमित्त मेसु हकपनि स्वीकार्छन् ।उनि भन्छन्,‘इमर्जेन्सी वार्डमा मात्र नभई अस्पतालको हरेक विभिागमा जनशक्ति अपुग छ । त्यसलाई समाधान गर्न हामीले प्रकृया थालिसकेका छौं ।’

आकस्मिक वार्डमा हाल बेडको संख्या अपुग भएर एउटै बेडमा २ जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता भएपनि करोडौंको लागतमा निर्मित ५० बेडको आकस्मिक सुविधासम्पन्न भवन प्रयोगमै ल्याइएको छैन ।

अस्पताल परिसरमै ९ करोड बढी रकमकाो लागतमा निर्माण गरिएको ५० बेडको उक्त तीन तल्ले आकस्मिक भवन तामझामसहितको कार्यक्रम गरेर उद्घाटन गरिएको ११ महिना बितिसक्दापनि प्रयोगमा ल्याइएको छैन । २०७९ असोज १३ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उक्त भवनको उद्घाटन गरेका थिए ।उक्त उद्घाटन कार्यक्रममै अस्पतालले ५० लाख रुपैया बढी खर्च गरेको चर्चापनि चलेको थियो ।

हाल सञ्चालनमा रहेको आकस्मिक कक्षमा बेड नपाएर एउटै बेडमा २ जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहदाँसमेत करोडौंको लागतमा निर्मित ५० बेडको आकस्मिक भवन उद्घाटन गरिएको १ वर्ष हुनलाग्दा समेत अस्पताल प्रशासनले प्रयोगमा ल्याएको छैन ।

वीरगन्जको नारायणी अस्पतालमा रहेको प्रयोगविहिन नवनिर्मित ३ तल्ले आकस्मिक भवन ।तस्बिर : क्रान्ति शाह,वीरगन्ज

अस्पतालका निमित्त मेसु हकले नवनिर्मित तीन तल्ले आकस्मिक भवन आकस्मिक उपचारका लागि आउने बिरामीका लागि उपयुक्त नभएको कारण प्रयोगमा नल्याइएको बताए । उनले भने,‘हस्पिटल रोड वारी र पारी गरेर दुई ठाँउमा छ । इमर्जेन्सी वार्डको बिरामीलाई अन्य वार्डमा भर्ना गर्नु प¥यो भने नवनिर्मित इमर्जेन्सी भवनबाट रोडपारीको भवनमा लग्नुपर्ने हुन्छ ।जुन सहज हुदैन ।’ त्यहि कारण नवनिर्मित आकस्मिक भवन प्रयोगमा ल्याउन नसकिएको हो ।

उक्त नवनिर्मित भवनमा अब आकस्मिक कक्ष नभई सर्जिकल वार्ड सञ्चालन गर्ने तयारीमा अस्पताल प्रशासन लागेको निमित्त मेसु हकले बताए ।

तर आकस्मिक कक्षका पूर्व इन्चार्ज डाक्टर उदयनारायण सिंहले भने अस्पताल प्रशासनले चाहेमा नवनिर्मित आकस्मिक भवनमै आकस्मिक कक्ष सञ्चालन गर्न सक्ने बताए ।उनले भने,‘बहाना त जेपनि गर्न सकिन्छ । इमर्जेन्सी वार्ड चलाउनकैै लागि बनाइएको भवनमा अहिले आएर चलाउन सकिदैन भन्नु बहानामात्रै हो । देशका अन्य केन्द्रिय अस्पतालहरुमा यहि संरचना र ढाँचा बनाईएका भवनमा इमर्जेन्सी वार्ड चलाइएको छ।’

 

 

Related posts

वीरगन्जको कोनियामा किसानलाई कृषि उपकरण वितरण

MadhesKhabar

उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस्

MadhesKhabar

पर्सामा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण आइतबारदेखि

MadhesKhabar

Leave a Comment