वीरगन्ज,१४भदौ :सामुदायिक विद्यालयमा दरबन्दी मिलान अनुरुप सरुवा गरिएका शिक्षकहरु तोकिएका विद्यालयमा धमाधम जान लागेकाे वीरगन्ज महानगरपालिकाले जनाएको छ ।गत बुधबार महानगरपालिकाले महानगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर छलफल गरेसँगै सरुवा गरिएका शिक्षकहरु तोकिएको विद्यालयमा धमाधम जान लागेका हुन् ।
अहिलेसम्म धेरैजसो शिक्षकहरुले पत्र बुझेर हाजिर हुन गइसकेको र केही जाने प्रकृयामा रहेकाे महानगरकाे शिक्षा महाशाखाले जनाएको छ। गत बुधबारकाे
छलफलमा महानगरपालिकाका मेयर राजेशमान सिंहले शिक्षकहरु आफूहरुकै परिवार रहेको भन्दै कुनै असहमतिका कुरा भए सडकमा गएर नभई छलफलमा आएर टुंग्याउन आग्रह गरेका थिए । ‘हामीहरु एकअर्काको पुरक भएर काम गर्नु पर्छ,’ उनले भनेका थिए ,‘एउटै परिवारको भएकाले कहिले तलमाथि होला तर असहमतिका कुराहरु घरभित्रै बसेर छलफल गरौँ निचोड निकालेर फेरि काम थालौँ, सडकमा हल्ला गर्दै निस्कनु शोभनीय होइन ।’
अहिलेको दरबन्दी मिलान विद्यार्थीको अनुपातका आधारमा गरिएकाले तोकिएको स्थानमा गएर पठन पाठनलाई सघाउन सबै शिक्षकहरुलाई आग्रह उनले गरेका थिए ।महानगरको शिक्षाको गुणस्तर बृद्धिमा शिक्षकहरुकै अहम भूमिका हुने भएकाले शिक्षकहरुको पीरमर्कालाई आफूहरुले सम्बोधन गरेरै अघि बढ्न तयार रहेको पनि उनले बताएका थिए ।
महानगरका उपमेयर इम्तियाज आलमले स्थानीय सरकार संघ र प्रदेशले चलाउने नभई स्थानीयले नै चलाउने भएकाले स्थानीय सरकारले दिएको निर्देशन पालना गर्नु सबै शिक्षक कर्मचारीको दायित्व रहेको स्मरण गराएका थिए ।उनले महाशाखाका कर्मचारीले कमी कमजोरी गरेर दुख दिएको भए तत्काल आफूहरुलाई जानकारी दिन आग्रह गर्दै त्यस्तो गरेको भेटिए कर्मचारीलाई आफूहरुले कारबाही गरेर शिक्षकहरुको समस्या सम्बोधन गर्न तयार रहेको बताएका थिए ।
छलफलमा प्रधानाध्यापकहरुले आफूहरुले दरबन्दी मिलान र सरुवाको विरोध नगरेको बताएका थिए । केही शिक्षकहरुलाई अप्ठ्यारो परेका विषयमा मात्रै आफूहरुको असहमति रहे पनि दरबन्दी मिलानको विरोधमा आफूहरु नरहेको नेपाल शिक्षक संघका महानगर अध्यक्ष प्रदीप जयसवालकाे भनाइ थियाे ।
उनले भनेका थिए ‘शिक्षकहरुलाई परेको पीर मर्का र अप्ठ्यारा सुनिदिन पर्यो, सम्बोधन गरिदिन पर्यो, अरु कुरामा हाम्रो कुनै विमति छैन, हामीलाई जहाँ पठाए पनि जान तयार छौँ, बालबालिकालाई पढाउन तयार छौँ ।’
यस्तै प्रधानाध्यापक दयाकान्त झाले महानगरले गरेको दरबन्दी मिलानका बारेमा राम्रो सँग नबुझेको भन्दै बुझाउन आग्रह गरेका थिए । दिनेश चौरसियाले विद्यालयको भौतिक अवस्था सुधार गर्नु पर्ने अवस्थामा रहेको भन्दै त्यतातर्फ ध्यान दिन पनि आग्रह गरे।
छलफलमा शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले दरबन्दी मिलानका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै महानगरको सोच, नगर शिक्षा समितिको निर्णय, विद्यार्थी संख्या, आवश्यकता, चार वटा अंग्रेजी माध्यमका माद्यमिक विद्यालय लगायतलाई ध्यान दिँदै दरबन्दी मिलानलाई अन्तिम रुप दिइएको बताएका थिए ।दरबन्दी मिलान कार्यलाई पारदर्शी बनाउन शिक्षकहरुको प्रतिनिधी, संघसंगठनका प्रतिनिधी र विज्ञलाई राखेर गरिएकाले कोही पनि शंकाउपशंकामा रहनु पर्ने अवस्था नरहेको उनकाे भनाइ थियाे । यो आर्थिक वर्षबाट शिक्षकहरुको तलब भत्ता उनीहरुकै बैंक खातामा महानगरबाट सोझै पठाउने गरि कार्य सुरु भएकाले त्यही अनुरुप तोकिएको ठाउँमा गएर तलबी खाता खोल्ने प्रकृयामा लाग्न सबै शिक्षकहरुलाई आग्रह पनि उनले गरेका थिए ।
छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा समितिका पदाधिकारी, दरबन्दी मिलान कार्यदलका सदस्य, महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

