Madhes Khabar
स्वास्थ्य

अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउन निर्देशन

काठमाडौं,६साउन: स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरेका छन् । मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि मन्त्री पौडेलले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने लगायतका निर्णय गरेका हुन् ।

उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार नै वीरगन्जको नारायणी अस्पतालसहित देशभरका सरकारी अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरेको छ । पत्रको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने उल्लेख छ ।

यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ । प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ ।

चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्ने निर्णय मन्त्रालयले गरेको छ ।

अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा बढी युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने पनि निर्णय भएको छ ।

यस्तै, अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

यसका साथै अस्पतालको कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुँदा सेवाग्राहीको अव्यवस्थित भीड अस्पतालमा हुने भन्दै त्यसको निराकरणका लागि नक्सा सबैले देख्ने गरी टाँस्नुपर्ने वा स्वयंसेवक परिचालन गर्नुपर्ने र सोधपुछ, सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी र सफा शौचालयको व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।साभार:अनलाइनखबर

Related posts

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

नारायणी अस्पतालमा क्याथ ल्याब सञ्चालनको तयारी,डाक्टरहरुले बिएचसी हस्पिटलमा गरे अवलोकन

MadhesKhabar

विधालयबाट बन्चित पोखरीयाका किशोरीहरुलाइ पोषण र सरसफाइ तालिम

MadhesKhabar

Leave a Comment