Madhes Khabar
मधेस प्रदेश राजनीति

मधेस: जनमतले सहमति अनुसार मन्त्रालय नदिए कांग्रेसको नेतृत्वमा सरकार बनाउने ३ दलको तयारी

धनुषा,२४असारःमन्त्रालय बाँडफाँडमा सहमति नजुट्दा मधेस प्रदेशमा सरकार विस्तार ढिलाइ भएको छ । सहमतिअनुसार मन्त्रालय नपाउँदा मन्त्रीहरूको नाम टुंगो लगाए पनि कांग्रेस सरकारमा सहभागी भएको छैन । त्यस्तै लोसपाले दुई मन्त्रालय पाउनुपर्ने अडान कायम राखेको छ । जनमत, कांग्रेस, एमाले र लोसपासहितको सरकार विस्तार गर्ने सहमति शुक्रबार भएपछि शनिबार मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशसभामा विश्वासको मत लिएका थिए ।

विश्वासको मत पाएपछि मन्त्रीलाई शपथ गराउने तयारी थियो । तर, दलहरूले आफ्नो अडान नछोड्दा सरकार विस्तार अन्योलमा परेको हो । कांग्रेसले चार मन्त्रालय र लोसपाले दुई मन्त्रालयमा अडान राखेपछि मुख्यमन्त्री सिंहले निर्णय गर्न सकिरहेका छैनन् । मुख्यमन्त्री सिंहले भने अर्थ मन्त्रालय आफूसँगै राख्न खोजेका छन् ।

मधेसमा जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि अविश्वासको अवस्था आएको कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए । ’विश्वासको मत लिनुअघि कांग्रेसलाई अर्थसहित ४ मन्त्रालय दिने सहमति भएको थियो,’ यादवले भने,’मुख्यमन्त्री सतीशकुमार सिंहलाई विश्वासको मत दिइसकेपछि कांग्रेसलाई अर्थबाहेक तीन मन्त्रालय मात्रै दिनसक्ने भनेपछि अविश्वास सुरु भएको छ ।’ अर्थ मन्त्रालय नपाउँदा कांग्रेसले सरकारमा मन्त्रीहरू पठाएको छैन।

मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि गरेको सहमति कार्यन्वयन नगरेपछि सोमबार कांग्रेस पार्टी कार्यालयमा कांग्रेस, एमाले र लोसपा तीन दलको बैठक बसेको छ । बैठकमा सहमतिअनुसार मन्त्रालय नदिए कांग्रेसको नेतृत्वमा अर्कै सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउने सहमति भएको कांग्रेस प्रदेश सांसद वीरेन्द्र सिंहले बताए । ’जनमतबाहेक एमाले २५, कांग्रेस २२ र लोसपा ८ गरी ५५ जना सांसद सरकार बनाउन पर्याप्त छ,’ सिंहले भने, ’संघीय गठबन्धनको सहमतिअनुसार नै हामी अगाडि बढ्छौँ । जनमतले सहमति कार्यन्वयन नगरे कांग्रेसको नेतृत्वमा गठबन्धनकै सरकार बनाउने प्रक्रिया अगाडि बढाउने तीन दलबीच सहमति भएको छ ।’

कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनील यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने तयारी गरेको छ । कांग्रेसले क्षेत्रीको नेतृत्वमा चार जनालाई सरकारमा पठाउने तयारी गरेको हो । तर मन्त्रालयको संख्या र नाम यकिन नहुँदा मन्त्रीहरूको शपथ हुन सकेको छैन । गत जेठ २५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा जनमतका सतीशकुमार सिंह मुख्यमन्त्री बनेका थिए ।

सत्ता समीकरण बदलिएसँगै शनिबार मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअगावै माओवादी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका ६ जना मन्त्रीलाई बर्खास्त गरेका थिए । नयाँ गठबन्धनअनुसार प्रदेश सरकारमा कांग्रेस र लोसपा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री सिंहको तयारी छ ।साभार : ईकान्तिपुरबाट

 

Related posts

कांग्रेसको स्थानीय निकाय विभागको सदस्यमा पर्साबाट तीन जना मनोनीत

MadhesKhabar

सुगौलिका मतदाता भन्छन् : यस पटक स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताएर पठाउछौँ

MadhesKhabar

कीर्तिपुर नगरपालिकाकाे मेयरमा कांग्रेसका डंगाेल विजयी

MadhesKhabar

Leave a Comment