Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरले १३ बर्षपछि जित्यो आदर्शनगर रंगशाला अगाडीको जग्गाको मुद्दा

वीरगन्ज,२३असार:वीरगन्ज-१० स्थित आदर्शनगर रंगशालाको अगाडीको सार्वजनिक जग्गाको विवादमा एक दशक पछि सर्वोच्च अदालतले वीरगन्ज महानगरपालिकाको पक्षमा फैसला दिएको छ।

उक्त सार्वजनिक जग्गा आफ्नो रहेको भन्दै जुगुनु राज्य लक्ष्मी शाहले जिल्ला अदालत र तत्कालिन पुनरावेदन अदालत हेटौँडाबाट समेत आफ्नो पक्षमा फैसला गराउन सफल भएको भएपनि सर्वोच्च अदालतले आइतबार ती दुवै अदालतकाे फैसला उल्ट्याँउदै महानगरपालिकाको पक्षमा फैसला सुनाएको हो ।

जिल्ला र पुनरावेदन अदालतको फैसला चित्त नबुझेको भन्दै मुद्धा दोहोर्याई हेरी पाउँ भनि तत्कालिन वीरगन्ज उपमहानगरपालिका (हाल वीरगन्ज महानगरपालिका)ले २०६८ साल साउन २० गते सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सर्वोच्चले २०७१ असार २० गते मात्रै मुद्दा दोहोर्याई हेरी पाउने निस्सा दिएको थियो ।

त्यसपछि पटक पटक पेशी चढेर विभिन्न आदेश हुँदै आइतबार भने सर्वोच्च अदालतका न्यायाधिशद्वय डा.कुमार चुडाल र कुमार रेग्मीको संयुक्त इजलासले जिल्ला र पुनरावेदन अदालतको फैसला उल्टाउँदै उक्त जग्गा महानगरपालिकाको हुने फैसला गरेको हो ।

योसँगै वर्षौदेखि देखिएको उक्त जग्गाको विवाद निरुपण भएको छ ।सर्वोच्च अदालतमा आइतबार महानगरको पक्षबाट अधिवक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद, सुरेश पोखरेल, इश्वर बराल र धन बहादुर थापाले बहस गरेका थिए । जुगुनुको तर्फबाट भने पूर्व महान्यायाधिवक्ता समेत रहेका महादेव यादव, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सुधिर कर्ण लगायत ८ जनाले बहस गरेका थिए।

तत्कालिन छपकैया गाउँ पंचायत वडा नंबर ७ हाल वीरगन्ज महानगरपालिका वडा नंबर १० आदर्शनगर रंगशाला अगाडीको कित्ता नंबर ५७ को करोडौ मुल्य पर्ने ३ कट्ठा ९ धुर जग्गा अब महानगरको अधिनमा आएको छ ।
नगर विकास समितिले त्यसबेला अधिग्रहण गरेर लिएको उक्त जग्गा व्यक्ति विशेषले आफ्नो बनाउन लागि परेका थिए।

सर्वोच्चको आदेशसँगै सार्वजनिक जग्गा व्यक्तिगत बनाउन खोज्नेहरुको प्रयास विफल भएको महानगरका मेयर राजेशमान सिंहले बताए ।

अतिक्रमित सार्वजनिक जग्गाको खोजी गर्दै खाली गराउने अभियानका साथै विभिन्न समयमा अदालतमा जाहेर भएका जग्गा सम्बन्धी मुद्दाहरुमा समेत प्रमाण संकलन गरेर महानगरले आफ्नो पक्षमा ल्याउने काम गरिरहेको उनले बताए ।

यस अघि जीपी फाउण्डेसनको नाममा अतिक्रमण गरेर कांग्रेस नेता समेत रहेका महम्मद साहबुद्धिनले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्दै आएको आदर्शनगरकै १ कट्ठा जग्गा समेत आफ्नो पक्षमा ल्याउन महानगर सफल भएको थियो ।

Related posts

नागरिकता विधेयक अगाडि बढाएर नागरिकाता विहिनहरुलाई न्याय दिन सांसद यादवको माग

MadhesKhabar

वीरगन्जमा धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याउन मेयर सिंहको अपिल

MadhesKhabar

मेयर सिंहले गरेको वाचा पुरा हुदै ,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

MadhesKhabar

Leave a Comment