Madhes Khabar
राष्ट्रिय

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

काठमाडौं,२७जेष्ठ :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’भारत प्रस्थान गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो साढे १ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्।

आइतबार भारतीय प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री प्रचचण्ड र मोदीबीच आइतबार नै भेटवार्ता हुने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसँगै छोरी गंगा दाहाल,कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कने कार्यक्रम छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए।

गत बुधबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए। प्रधानमन्त्री प्रचचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) २ सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले २ सय ४० सिट जितेको छ।

एनडीएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि शपथग्रहण गर्न लागेका हुन्। राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ। साभार :अन्नपूर्णपोष्ट

Related posts

ईन्टरनेट सेवा अवरुद्ध हुन नदिन निर्वाचन आयोगको संचार मन्त्रालयलाई निर्देशन

MadhesKhabar

पर्साका सुकुम्बासीको समस्या सामधानका लागि आयोग र पालिकाहरु बिच सम्झौता

MadhesKhabar

बारामा काँग्रेसको विजय जुलुशमा झडप

MadhesKhabar

Leave a Comment