
बारा,२५जेष्ठ:बाराको वनक्षेत्रबाट यसवर्ष करिब सवा लाख क्युफिट ढलापडा काठ उत्पादन भएको छ । जिल्लाको सामुदायिक, साझेदारी, राष्ट्रिय वन क्षेत्र र पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रबाट उक्त परिमाणमा काठ उत्पादन भएको हो ।
जसमध्ये ७० हजार क्युफिट काठ ३ वटा साझेदारी वनबाट मात्रै उत्पादन भएको छ भने ३० हजार क्युफिट सामुदायिक वन र बाँकी मध्यवर्ती क्षेत्रबाट उत्पादन भएको छ ।
मधेस प्रदेशकै सबैभन्दा उत्कृष्ट सालको वन भएको गढीमाई साझेदारी वनबाट यस वर्ष ४५ हजार, हलखोरिया साझेदारीबाट २२ हजार, तामागढी साझेदारी वनबाट ६ हजार ६०३, सामुदायिक वनहरूबाट मात्रै करिब ३० हजार र मध्यवर्ती क्षेत्रका ४ वटा सामुदायिक वनबाट १० हजार क्युफिट काठ उत्पादन भएको हो ।
उत्पादन भएको सबै काठ ढलापढा भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । बारामा ४ वटा साझेदारी, ४१ वटा सामुदायिक, सरकारद्वारा व्यवस्थित राष्ट्रिय वन क्षेत्र र पर्सा राष्ट्रिय निकुञ्ज छ ।
जिल्लामा रहेका ४१ वटा सामुदायिक वनमध्ये निजगढ सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका पशुपति सामुदायिक वन, जनमुखी, राधाकृष्ण, जनज्योति, जनहित, आदर्श सदावहार, जनजागृती सुन्दर सामुदायिक र जीतपुर सिमरामा रहेको पथलैया सामुदायिक वनमा यस वर्ष कटान-छपान भएको थियो ।
वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएका वनमा भने सङ्घीय सरकारले नै कोभिड–१९ पछि कटान-छपान र बिक्री वितरण रोकेकाले ४ वर्षपछि यस वर्ष कटान भएको हो ।
गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष राम एकवाल प्रसाद तेलीले घर बनाउँदै गरेका उपभोक्ताहरूको स्थलगत अनुगमनपछि ४५ क्युफिटसम्म काठ वितरण गर्ने जनाए ।
साझेदारी वनले भ्याट बाहेक ‘ए ग्रेड’ को काठ १ हजार ५५७ रुपैयाँ प्रतिक्युफिट ‘बी ग्रेड’ १ हजार २४६ र ‘सी ग्रेड’ को काठ १ हजार २२ रुपैयाँमा उपभोक्तालाई बिक्री गर्दछ ।
यता मध्यवर्ती क्षेत्रका सामुदायिक वन समूहले भने उपभोक्ताहरूलाई ‘ए ग्रेड’ को काठ प्रतिक्युफिट एक हजार रुपैयाँमा राजस्व लिएर बिक्री गर्दछ ।
डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले मधेस प्रदेशमा दिगो वन व्यवस्थापन सम्बन्धी गरिएको सम्भाव्यता अध्ययन कार्यान्वयन गर्नसके वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन गर्न सकिने बताए ।
वनजङ्गल संरक्षण, सम्वर्द्धन र काठदाउरा बिक्री वितरणलाई उपभोगलाई व्यवस्थित गर्न मधेस प्रदेश वन मन्त्रालयले दिगो वन व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गरिरहेको डिभिजन वन प्रमुख सिंहले जनाए ।साभार:राताेपाटी