वीरगन्ज,२१जेष्ठ:टी-२० विश्वकपको आफ्नाे पहिलाे खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि सहज जित हात पारेको छ ।
अमेरिकाको न्युयोर्कमा साेमबार राति भएकाे खेलमा दक्षिण अफ्रिका ६ विकेटले विजयी भएकाे हाे।
श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट मात्र गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि ओपनर क्विटन डि ककले २७ बलमा २० तथा हेनरिक क्लेसनले २२ बलमा अविजित १९ रन बनाए । कप्तान एडेन माकरमले १४ बलमा १२ तथा ट्रिस्टन स्टब्सले १३ रन बनाए ।
श्रीलंकाका लागि कप्तान वानिन्दु हसरंगाले दुई तथा दासुन शनका र नुवान तुसाराले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९.१ ओभरमा ७७ रन बनाउँदै अल आउट भएको थियो ।
श्रीलंकाका लागि ओपनर कुशल मेन्डिसले ३० बलमा १९ तथा एन्जेलो म्याथ्युजले १६ बलमा १६ रन बनाए । कमिन्डु मेन्डिसले १५ बलमा ११ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि एनरिक नोर्कियाले ४ ओभरमा ७ रन मात्र खर्चिएर ४ विकेट लिए । कागिसो रबडा र केशब महाराजले समान दुई दुई तथा ओटनिल ब्राटम्यान एक विकेट लिए ।
जितसँगै दक्षिण अफ्रिका समूह डी को शीर्ष स्थानमा छ ।

