वीरगन्ज,३माघ:वीरगन्जमा नेशनल इन्फोटेकले आयोजना गरेको एनआइ कप अन्तर कलेज टी – २० क्रिकेटमा बुधबार भएमा खेलमा वीरगन्ज सेन्ट्रल कलेज र हेटौँडा स्कुल अफ म्यानेजमेन्ट विजयी भएका छन् ।
वीरगन्ज सेन्ट्रल कलेज र ज्ञानदा एकेडेमीबिच भएको पहिलाे खेलमा वीरगन्ज सेन्ट्रल चार विकेटले विजयी भएको आयोजक नेशनल इन्फोटेकले जनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर वीरगन्ज सेन्ट्रललाई १२१ रनको लक्ष्य दिएको थियो ।
ज्ञानदाले दिएको लक्ष्यलाई वीरगन्ज सेन्ट्रलले १९.३ ओभरमा जम्मा ६ विकेट गुमाएर पुरा गर्यो । कमलेश पटेल, विकास कुमार सर्राफ र कमलेश दासले गरेको आकर्षक ब्याटिङले वीरगञ्ज कलेजलाई लक्ष्य प्राप्त गर्न ठूलो सहयोग गर्यो । पटेलले ३७ बल खेलेर एक छक्का र दुई चौकाको सहयोगमा ३० रन जोडे भने सर्राफले २२ बल खेलेर एक छक्का र दुई चौकाको सहयोगमा २० रन जोडेका थिए । त्यस्तै दासले २३ बल खेलेर चार चौकाको सहयोगमा २२ रन जोडे ।
यता, ज्ञानदाको तर्फबाट धिरज पटेल, गुड्डु यादव र अजय सहनीले उत्कृष्ट प्रदर्शनी गरे पनि उनीहरूले खेल आफ्नो पक्षमा ल्याउन सकेनन् । ज्ञानदाका पटेलले ३९ बलमा एक छक्का र दुई चौकाको सहयोगमा ४५ रन बनाए भने यादवले २२ बल खेलेर दुई छक्का र चार चौकाको सहयोगमा ४२ रन । त्यस्तै अजय सहनीले २२ बल खेलेर एक चौकाको सहयोगमा १६ रन जोडे ।
बलिङ तर्फ वीरगन्ज सेन्ट्रलका मुकेश मण्डलले चार ओभर फ्याँकेर १६ रन खर्चिँदै दुई विकेट लिए भने निकेश गुप्ताले चार ओभर फ्याँकेर २६ रन खर्चिँदै एक विकेट लिए । त्यस्तै ज्ञानदा एकेडेमीका प्रयास गुप्ताले दुई, कन्हैया कुमार सह र आफताब आलमले एक/एक विकेट लिए ।
त्यस्तै दोस्रो खेल वीरगञ्ज पब्लिक कलेज र हेटौँडा स्कुल अफ म्यानेजमेन्टबिच भएकोमा हेटौँडा ३५ रनले विजयी भयाे । टस जितेर पहिले ब्याटिङ गरेको हेटौँडाले निर्धारित २० ओभरमा केवल तीन विकेट गुमाएर १३५ रन जोड्यो । हेटौँडाका लागि साहेब यादवले अर्ध शतक बनाए । उनले ४५ बलमा एक छक्का र सात चौकाको सहयोगमा ५१ रन जोडे । त्यस्तै जयेन्द्र कुशवाहाले ४२ बलमा २८ र रामचन्द्र धामीले सात बलमा दुई चौकाको सहयोगले १५ रन जोडे ।
जवाफी ब्याटिङमा उत्रेको वीरगन्ज पब्लिक कलेजको प्रदर्शन भने निराशाजनक रह्यो । उसले १७.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर केवल १०० रन जोड्यो । वीरगन्ज पब्लिकका लागि अशरफ हुसेनले २१, सन्दीप सिंहले २० र अर्सद हुसेनले १६ रन जोडे।
बलिङ तर्फ हेटौँडाका प्रन्जल उपाध्यायले चार ओभर फ्याँकेर जम्मा १९ रन खर्चिँदै चार विकेट लिए भने गौरव श्रेष्ठ र राजा अहमदले दुई/दुई विकेट लिए । त्यस्तै वीरगन्ज पब्लिकका राहुल बैठा र आशिष् सिंहले एक/एक विकेट लिए ।

