वीरगन्ज ,५ बैशाख:वीरगन्जमा नेपाल राष्ट्र बैंक लिमिटेडको ६९ औं बार्षिक उत्सवको अवसरमा आयोजित टि – १० क्रिकेट लिग प्रतियोगिताको उपाधि नेपाल मेडिकल एसोसिएसन पर्साले जितेको छ ।
आदर्शनगर खेल मैदानमा बुधबार भएको फाइनल खेलमा वीरगन्ज महानगरपालिकालाई बल आउटमा १-० अन्तरले हराउँदै नेपाल मेडिकल एसोसिएसन पर्साले उपाधि उचालेकाे हाे।
नेपाल मेडिकल एसोसिएसन पर्साले दिएकाे ८३ रनको लक्ष्य पाएको वीरगन्ज महानगरपालिकाले १० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन बनाएपछि खेल बराबरीमा पुगेको थियो ।
दुवै टिमको खेल बराबरीमा पुगेपछि बल आउटको माध्यमले नतिजा निकालिएको नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका सहायक निर्देशक नरेश कुमार सरार्फले जानकारी दिए ।
यसअघि खेलमा पहिले ब्याटिङ गरेको नेपाल मेडिकल एसोसिएसन पर्साले १० ओभरमा ५ विकेटको क्षतिमा ८२ रन बनाएको थियो ।
समापन समाराेहमा टि – १० क्रिकेट लिग प्रतियोगिताकाे उपाधि विजेता नेपाल मेडिकल एसोसिएसन पर्साका कप्तान डा.दिलिप चाैरसियालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
यस्तै उपविजेता बनेको वीरगन्ज महानगरपालिकालाई नेपाल राष्ट्र बैंक वीरगन्ज कार्यालयका निर्देशक शरण कुमार अधिकारीले शिल्ड र प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगिताकाे बेस्ट ब्याटसम्यान नेपाल मेडिकल एसोसिएसन पर्साका खेलाडी डा. दिपेश झा , बेस्ट बलर मेडिकल एसोसिएसन पर्साकै डा. रुपेन्द्र मिश्र र बेस्ट फिल्डर नेपाल पत्रकार महासंघ पर्साका खेलाडी सदाम हुसेन चुनिए ।
उनीहरूलाई सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुदिप तम्राकर र वीरगन्ज महानगरपालिका २० का वडाध्यक्ष रामकिशोर सिंह परागले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
यसअघि बुधबार बिहान नै भएको पहिलो खेलमा नेपाल मेडिकल एसोसिएसन पर्साले वीरगन्ज बैंकर्स ग्रुपलाई हराएर फाइनलमा प्रवेश गरेको थियो ।मंगलबार आयोजक नेपाल राष्ट्र बैंकलाई हराएर वीरगन्ज महानगरपालिका फाइनलमा पुगेको थियो ।
प्रतियोगितामा आयोजक नेपाल राष्ट्र बैंक , नेपाल पत्रकार महासंघ पर्सा , वीरगन्ज बैंकर्स ग्रुप , नेपाल मेडिकल एसोसिएसन पर्सा ,वीरगन्ज महानगरपालिका कार्यालय र एनवाईएफ वीरगन्ज सहभागी भएका थिए ।

