वीरगन्ज,१बैशाख:अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङको सहयोगमा नेपालले कतारलाई पराजित गरेको छ ।
ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हराएको हाे।ओमानको मस्कटमा भएको खेलमा नेपाल ३२ रनले विजयी भएकाे हाे ।
नेपालले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा १ सय ७८ रन मात्र बनाउन सक्यो ।
कतारका लागि कप्तान मुहमद तानबिरले ६३ रनको ईनिगं खेले ।
ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुलसन झाले समान दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो । नेपालका लागि ओपनर आसिफ शेखले ४१ बलमा ६ चौकाको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । दीपेन्द्रसिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको सहयोगमा अविजित ६४ रनको अर्धशतकीय ईनिङ खेले । दीपेन्द्रले बिस्फोटक ईनिङ खेल्दै एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
हर्शेल गिब्स, युवराज सिंह, किरन पोलार्ड र जसकरन मलहोत्राले यस अघि एक ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए । कप्तान रोहितकुमार पौडेलले १७ बलमा १८ तथा कुशल भुर्तेलले ११ बलमा १२ रन बनाए ।
कतारका लागि हिमाशुं राठौर र मुसावर शाहले समान तीन तीन तथा अमिर फरिकले एक विकेट लिए ।

