वीरगन्ज,२७चैतःआजदेखि चैते दशैं सुरु भएको छ । योसंगै नवरात्रापनि सुरु भएको हो । नौ दिनसम्म चल्ने नवरात्रामापनि आश्विन शुक्लपक्षमा पर्ने नवरात्राको जस्तै दुर्गा भवानीको विशेष उपासना र पूजापाठ गरिन्छ । दुर्गा भवानीको शक्तिपिठ र घरघरमा सनातन हिन्दु धर्मावलम्बीहरुले नौ दिनसम्म उपवास बसेर दुर्गा भवानीको पूजापाठ गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गर्ने गर्छन्
नवरात्रको आठौं दिन अष्टमी तिथीका दिन चैते दशैं र नवमी तिथीका दिन रामनवमी पर्ब मनाउने गरिन्छ ।यस वर्ष बैशाख ४ गते अष्टमी तिथी अर्थात चैते दशैं र वैशाख ५ गते बुधबारका दिन रामनवमी पर्व परेको छ ।
हिन्दु धर्म शास्त्र अनुसार एक वर्षमा चार वटा नवरात्र पर्छन् । चैत, असार, आश्विन र माघ महीनाको शुक्ल पक्षमा नवरात्र पर्छ । चार नवरात्रमध्ये चैत र असोजको नवरात्रलाई विशेष रुपमा मनाउने परम्परा छ ।आषाढ र माघका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिन्छ ।
यसैबिच चैतको नवरात्र सुरु भएसंगै वीरगन्जको गहवामाई , विर्तामाई , बौद्धीमाई , विन्दबासिनीमाई, भुटनदेवीमाई , बाराको बरियारपुरको गढीमाई लगायतका शक्तिपिठमा आजदेखि पूजापाठ गर्ने भक्तजनहरुको चहलपहल बढेको छ । यस्तै नवरात्र सुरु भएको दिन आज वीरगन्जका विभिन्न टोलबाट कलश यात्रापनि निकालिएको छ ।

