Madhes Khabar
खेलकुद

जीतपुरसिमरा गोल्डकपकाे उद्घाटन खेलमा वीरगन्जले आर्मीकाे सामना गर्ने

बारा,२४चैत:बाराकाे सिमरामा शनिबारदेखि सुरु हुने जीतपुरसिमरा गोल्डकप फुटबलको १४ औं संस्करणको तयारी पूरा भएको छ । आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता शनिबारदेखि सिमरा रंगशालामा सुरु हुनेछ ।

क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले शनिबार साँझ ५ बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतियोगिताको पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लब र वीरगन्ज युनाईटेड क्लब बीचमा हुनेछ । फ्लड लाईटमा शनिबार साँझ ६ः३० बजेबाट सुरु हुने प्रतियोगिताको एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएको छ ।

वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाइटेड, आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ५ ‘ए’ डिभिजन टोलीसहित एपिएफ फुटबल क्लब, मकवानपुर ११ हेटौंडा, वीरगञ्ज युनाइटेड, सिराहाको सहलेश युवाक्लब र आयोजक नवजनजागृती युवा क्लब गरि १० टोलीको सहभागिता रहनेछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोली ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलेसमान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

प्लेयर अफ दि म्याचको पुरस्कार प्रायोजन गरेको सिमरास्थित शुभारम्भ कलेज अफ म्यानेज्मेन्टका क्याम्पस प्रमुख शम्भु मण्डलले शिक्षाको अभिन्न अङ्ग खेलकुद पनि भएकाले जीतपुरसिमरा गोल्डकपसंग जोडिन पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि यसको निरन्तरता दिने बताए ।

रात्रीकालीन फुटबलमा दर्शकको आकर्षण बढाउन गतबर्षबाट फुड फेस्टिभल समेत सुरु गरेको आयोजकले यस बर्षपनि होटल तथा पर्यटन व्यवसायी संघ बारासंगको सहकार्यमा फुटलब संगै फुड फेस्टिभललाई निरन्तरता दिने जनाएको छ ।

जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षण सिट सहित निशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताइएको छ ।

Related posts

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा

MadhesKhabar

विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

MadhesKhabar

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

MadhesKhabar

Leave a Comment