Madhes Khabar
खेलकुद

आईपीएलमा रोहित शर्मा आउट भएपछि खुसीयाली मनाउने हैदरावादका समर्थकको हत्या

काठमाडौं,१९चैतःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को एक खेलका क्रममा खुसीयाली मनाउने क्रममा विपक्षी टोलीका समर्थकले एक ६३ वर्षीय व्यक्तिको हत्या गरेका छन् । यो घटना सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबिचको खेलका क्रममा भएको थियो ।

हैदरावादका बलरले मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान रोहित शर्माको विकेट लिएपछि खुसीयाली मनाउँदा बांडुपंत टिबिले नामक व्यक्तिको हत्या गरिएको हो । बांडुपंत हैदराबादका समर्थक थिए र मुम्बईका समर्थकले उनको हत्या गरेको समाचारमा जनाइएको छ ।

उक्त खेलमा दुई सय ७८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका ओपनर ब्याट्सम्यान रोहित शर्मालाई हैदराबादका बलर प्याट कमिन्सले अभिषेक शर्माद्वारा क्याच गराएका थिए । त्यतिबेला रोहित शर्मा २६ रन बनाउँदै क्रिजमा थिए ।रोहित शर्मा मुम्बईका पूर्वकप्तान पनि हुन् । उनले हालसम्म सर्वाधिक पाँचपटक मुम्बईलाई आईपीएलको उपाधि चुमाएका छन् । उक्त अप्रिय घटना कोल्हापुरको हनमंतवाडी क्षेत्रमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय प्रहरीकाअनुसार, बलवंत झांझगे र सागर झांझगे अन्य केही व्यक्तिसँग मिलेर एउटा घरमा मुम्बई र हैदराबादबिचको खेल हेरिरहेका थिए । यी दुवै मुम्बई इन्डियन्सका समर्थक थिए । पहिले ब्याटिङ गरेको हैदराबादले विशाल रन बनाएपछि मुम्बईका समर्थकहरू आक्रोशित देखिएका थिए ।

त्यसमाथि सबैभन्दा सफल र अनुभवी खेलाडी आउट भएपछि त मुम्बईका समर्थकहरू झनै आक्रोशित बनेका थिए । रोहित आउट हुनासाथ हैदरावादका समर्थक बांदुपंत पनि खुसीयाली मनाउँदै त्यहाँ पुगे । रोहित शर्मा नै आउट भएपछि मुम्बईको हार निश्चित भयो भन्दै उनी खुसीयाली मनाउँदै थिए ।

त्यसपछि मुम्बईका आक्रोशित समर्थक बलवंत र सागरले बांदुपंतमाथि अचानक आक्रमण गरे । उनीहरुले बांदुपंतको टाउकोमा लाठी र ढुङ्गाले पटक–पटक हिर्काएका थिए । खेल हेरिरहेका अन्य व्यक्तिले छुट्टाएर बांदुपंतलाई अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको दोषी बलवंत र सागरलाई प्रहरीले नियन्नत्रणमा लिएको छ । स्थानीय प्रहरीले सामान्य विषयलाई लिएर यति ठुलो घटना भएकोमा आफूहरू पनि आश्चर्यचकित भएको बताएको छ ।साभारःरातोपाटीबाट

Related posts

भारतलाई हराएर नेपाल फइनलमा

MadhesKhabar

नेपाल क्यानडासंग पराजित

MadhesKhabar

नेपालकाे लगातार दाेस्राे जित,कतार १६ रनले पराजित

MadhesKhabar

Leave a Comment