Madhes Khabar
खेलकुद

नेपालको किर्तिमानी जीत, माल्दिभ्स १३ रनमै अलआउट

वीरगन्ज,१फाल्गुन :मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपालले माल्दिभ्समाथि किर्तिमानी जीत हासिल गरेको छ । २२८ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको माल्दिभ्स १३ रनमै अलआउट भएपछि नेपालले २१४ रनको किर्तिमानी जीत हात पारेको हो ।

माल्दिभ्स १३.५ ओभरमा अलआउट हुदै १३ रनमै समेटिएको हो । माल्दिभ्सकी सुमाया अहमदले सर्वाधिक ५ रन बनाइन् ।माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए । यो नेपालको महिला टी–२० आईमा सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि २०२१ मा नेपालले पाएको कतारविरुद्ध ११९ रनको जित नै सर्वाधिक ठूलो अन्तर थियो ।

मंगलबार माल्दिभ्स विरुद्धको खेलमा नेपालको जितमा अश्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन् । पूजा महतोले ३ ओभरमा २ मेडनसहित २ रन खर्चेर ३ विकेट लिइन् । रुविना क्षेत्रीले ३.५ ओभरमा २ रन खर्चेर ३ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२७ रनको विशाल योगफल खडा गरेको थियो । रुविना क्षेत्रीको शतक र पूजा महतोको अर्धशतकको मद्दतले नेपालले माल्दिभ्सविरुद्ध विशाल स्कोर बनाएको थियो ।
रुबिनाले ५८ बलमा ११८ रन बनाइन् । उनले ५ छक्का र १० चौका प्रहार गरिन् । रुविनाले ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् । उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् । यसअघि सन् २०२१ मा सीता रानामगरले कतारविरुद्धको खेलमा ८२ रन प्रहार गरेकी थिइन् ।

यस्तै ३६ बलमा ५९ रन बनाएकी महतोले १ छक्का र ५ चौका प्रहार गरिन् । कविता कुँवरले १० बलमा १३, सीता रानामगरले ११ बलमा १५ र डली भट्टले ४ बलमा ६ रन बनाइन् । कप्तान इन्दु बर्मा भने पहिलो बलमै आउट हुन पुगिन् ।

माल्दिभ्सको तर्फबाट सम्मा अलीले ४ ओभरमा ४४ रन खर्चिँदै ३ विकेट लिइन् भने नबा बिन्थु नसिमको नाममा १ विकेट रह्यो । उनले ४ ओभरमा ४५ रन खर्च गरिन् ।

नेपालले यसअघिको दुवै खेल जितेर क्वार्टरफाइनलमा यसअघि नै स्थान सुरक्षित गरिसकेको छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले पराजित गरेको थियो ।

Related posts

भारतविरुद्धकाे खेलमा नेपाली खेलाडीले प्रत्येक छक्काकाे २० हजार र शतक हाने ५ लाख पाउने

MadhesKhabar

सप्तरीलाई हराउँदै बारा सेमिफाइनलमा

MadhesKhabar

जनकपुर बाेल्ट्सले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा

MadhesKhabar

Leave a Comment