धादिङ,२६माघ:दुई वटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छि गाउँपालिकास्थित ह्याम्लेट रेष्टुरेन्टलाई एक लाख जरिवाना गरिएको छ।
२० रुपैयाँ पर्ने दुई वटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि गल्छि–७ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो।
पृथ्वी राजमार्ग आसपासमा महंगो मूल्य असुल्ने होटल, किराना पसल र क्याफेलाई जरिवाना गराइएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए।
उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित बोकेर अनुगमनमा पुगेको टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाही गरेको उनले बताए।
‘पकाएर दिएको दुई पोका चाउचाउको पाँच सय रुपैयाँ तिरेको होटलले दिएको बिलसहित एकजना उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी गरे। उजुरी परेपछि अनुगमन गरी जरिवाना गरेका हौं,’ उनले भने, ‘ह्याम्लेटसहित गल्छिकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई १०–१० हजार जरिवाना गरिएको छ। विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरेको र अधिकतम मूल्य लिएकाले जरिवाना गरिएको हो।’
तोकिएको मूल्यभन्दा बढी लिने होटल तथा पसलेलाई कडाभन्दा कडा कार्वाही गरिने उनले बताए। ‘विगतका दिनहरुमा हामीले खानेकुराको गुणस्तर हेरेका थियौं। पछिल्लो समय एमआरपीमा उपभोक्ता ठगिने गुनासा आएका छन्,’ उनले भने, ‘अबका दिनमा महँगो मूल्य असुल्नेहरुमा फोकस गरेका छौं। उपभोक्ताले खरिद बिल र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन सक्नेछन्।’
उनले उपभोक्ताहरूलाई अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान खरीद नगर्न अनुरोध गर्दै सोभन्दा बढीमा सामान बिक्री गरेको देखिएमा कालोबजारी र ठगी अभियोगमा मुद्दा चलाइने प्रष्ट पारे।साभार:नयाँपत्रिकाबाट

