वीरगन्ज,१६माघ:वीरगन्जमापनि आज मंगलबार विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएकाे छ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।
देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ।
यसै क्रममा वीरगन्जमापनि आज नेपाली कांग्रेसले शहीदहरुकाे शालिकमा माल्यार्पण कार्यक्रम गरेर शहीद दिवस मनाएकाे हाे ।वीरगन्जको गण्डक चाेकमा रहेकाे शहीद तेजबहादुर अमात्य र नारायणी अस्पतालमा रहेकाे शहीद थीरबम मल्लकाे शालिकमा आज कांग्रेसले माल्यार्पण कार्यक्रम गर्याे ।त्यस अवसरमा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शहीदहरुकै बलिदानी र त्यागले देशमा प्रजातान्त्र , लाेकतन्त्र र गणतन्त्र प्राप्त भएकाे बताए ।
उनले प्रजातान्त्र र लाेकतन्त्र रहे मात्र नागरिकले स्वतन्त्रता पुर्वक बाँच्न पाउने भएकाले लाेकतन्त्रलाई बचाउनु हरेक नागरिकको दायित्व भएको बताए ।अहिलेपनि लाेकतन्त्रमाथि प्रहारकाे प्रयास भईरहेकाले यसतर्फ सबै जना सजग हुनुपर्ने उनले बताए ।
कांग्रेसका कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहकाे अध्यक्षता तथा मन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व सांसद अनिल रुंगटा, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी लगायतका नेताकार्यकर्ताकाे सहभागीता थियाे।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि भएकाे आन्दाेलनमा शहादत दिएका शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ तथा प्रजातान्त्रिक आन्दोलनका अरू शहीदको योगदानलाई आजका दिन स्मरण गर्ने गरिन्छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा मनाउने गरिन्छ।
राणा शासनको विरोध गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेकाे पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।
यसैबीच राष्ट्रपति,प्रधानमन्त्रीलगायतले शहीद दिवसको अवसरमा शुभकामना दिदैं शहीदले देखेका सपना र लिएको अठोटलाई पूरा गर्न सबैले सङ्कल्प गर्नुपर्ने बताएका छन् ।

