वीरगन्ज,२५भदाैं:वीरगन्ज कारागारकाे पर्खाल फाेडेर भाग्ने प्रयास गरेका ४ जना कैदी नेपाली सेनाले हानेकाे गाेली लागेर घाइते भएका छन्।कारागारका कैदीहरुले मंगलबार मध्यराति देखि नै कारागारबाट भाग्न खाेजेपछि नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेना कारागारमा खटिएको थियाे ।
कैदीहरुले भाग्नका लागि कारागारकाे पर्खाल फाेडेर प्वाल बनाएपछि नियन्त्रणका लागि खटिएको सेनाले त्यहि प्वालबाट कारागारभित्र अन्धाधुन्द गाेली चलाएकाे थियाे ।सेनाले चलाएकाे गाेलीले लागेर कैदीहरु विकास जयसवाल,विकास लामा,सन्जिव साह र राजा कुमार घाइते भएका हुन्।घाइते चारै जनालाई बुधबार बिहान एम्बुलेन्समा राखेर उपचारका लागि नारायणी अस्पतालमा पुर्याइएकाे र प्रहरीको निगरानीमा उनिहरुकाे उपचार भइरहेको पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्रले जानकारी दिए।
कारगारलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चारैतिरबाट घेरामा लिएको र अहिले अवस्थामा नियन्त्रणमा रहेकाे उनले बताए ।
यस्तै वीरगन्ज-४ वीर्तामा रहेकाे बाल सुधार गृहबाट भने १४६ बाल कैदीहरु मंगलबार राति देखि भागेकाेमा तीमध्ये ७८ जनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसोसम्म वीरगन्जका विभिन्न स्थानबाट फरारमध्येका ७८ जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मिश्रले बताए ।फरार मध्येका ६८ जनाकाे खाजी भइरहेको उनले बताए।
यसैबीच मंगलबार राति १० बजेदेखि सुरक्षाकाे कमान्ड नेपाली सेनाले लिएपछि बुधबार बिहानदेखि वीरगन्जमा प्रदर्शन राेकिएकाे छ।बुधबार बिहानैदेखि चाेक चाेकमा सेना खटिएको छ।
वीरगन्जमा मंगलबार साँझ देखि अनिश्चितकालीन कर्फु लगाईएकाे छ।यसअघि साेमबार राति ९ बजेदेखि मंगलबार साँझ सम्मका लागि कर्फु लगाइएकोमा मंगलबार प्रदर्शन उग्र भई ताेडफाेड,आगजनी र लुटपाट चलेपछि स्थानीय प्रशासनले मंगलबार साँझ ६ बजेदेखि अनिश्चितकालीन कर्फु आदेश जारी गरेकाे हाे।

