काठमाडौं,१५माघ: : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रिय मुक्ति आन्दोलनका लागि ‘राजनीतिक शक्ति’सँग गहन तयारी गरिरहेका छन्। पार्टीको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट रहेका महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्य समिति बैठकसमेत बहिस्कार गरेका थिए।
लोसपा अध्यक्ष महन्थ ठाकुरसँग खटपट भएपछि नेता महतो शक्ति केन्द्रसँग संवाद र छलफल गर्न भारतको दिल्ली पुगेका थिए। भारतका रक्षामन्त्री अमित साह र गृहमन्त्री राजनाथ साहसँग छलफल गरेर उनी नेपाल आएका हुन्। लोसपाका एक नेताले भने,‘राजेन्द्रजी इण्डिया जानुभएको थियो। राजनीतिक शक्तिसँग संवाद गरेर आउनुभएको छ।’ मधेश केन्द्रित दल मात्रै नेपालको राजनीतिमा सफल हुनका लागि दलका नेताहरु ‘पावरको कसरत’गर्न दिल्ली पुग्ने गर्छन्।
तपाई दिल्ली गएर त्यहाँका नेताहरुसँग भेटेको कुरा के हो ? भन्ने प्रश्नमा नेता महतोले हाँस्दै भने,‘मिडियाहरुले लेखि नै रहन्छ।’
मिडियाहरुले त त्यसै लेख्दैन नि ? भन्ने प्रश्नमा उनले थपे, ‘म त्यस बारे छिट्टै बताउँछु।’
लोसपा पनि नछोड्ने अनि राष्ट्रिय मुक्ति आन्दोलन त्यहीँ बसेर कसरी बनाउनु हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो पनि छिट्टै बताउँछु। म छ्ट्टिै क्लियर गर्छु।’उनको बोलीले प्रष्ट पार्छ, —राजेन्द्र महतो शक्तिसँग संवाद गरेर ‘दिल्ली सन्देश’सहित स्वदेश फर्किएका हुन्। यो घटनाक्रमलाई नेता महतोको सक्रियाले पनि देखाउँछ। दिल्लीबाट फर्किएपछि उनको अस्वभाविक रुपमा सक्रियता बढेको छ।
उनले हालै स्वर्गीय गजेन्द्र नारायणको २२ औं पुन्य तिथिका अवसरमा देशैभरी ‘गजेन्द्रबाबुको विचार र मधेसको वर्तमान राजनीति’विषायक संवाद गरे। पार्टीको बैठककमा नगएका उनी स्वर्गीय जगेन्द्र नारायण सिंह अध्ययन केन्द्रको मञ्चबाट अगामी आन्दोलनका लागि आधारभूमि तयारी गरिरहेका छन्। त्यसअघि नेता महतो मधेसका विभिन्नस्थलमा पुगेर मुख्य राजनीति कार्यकर्ताहरुसँग अगामी आन्दोलनका बारेमा छलफल गरेरपछि दिल्ली गएका थिए।
महन्थ ठाकुर र राजेन्द्र महतोको बोलीचाली बन्द
महन्थ ठाकुर र महतो बोलचाल बन्द भएको डेढ महिना भयो। आफैँले बनाएको घरमा आफूनिकट कार्यकर्ताहरुले बास नपाएपछि नेता महतो र अध्यक्ष ठाकुर बीच पानी बाराबारको अवस्था आएको थियो।
डेढ महिना पछिल्ला सशस्त्र प्रहरीका असई थमन विक हत्याकाण्डमा लोसपाका नेतालाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनायो। त्यसलाई लिएर वरिष्ठ नेता राजेन्द्र महताले अध्यक्ष ठाकुरलाई सरकार छाडेर आन्दोलनमा जान भनेका थिए। तर, ठाकुरले यो प्रस्ताव अस्वीकार गरे। त्यसले उनीहरु बीच झनै तिक्तता बढेको छ। जसले गर्दा नेता महतो वैकल्पिक शक्ति निर्माण लागेको लोसपाका महासचिव केशव झाले बताए।
आन्दोलन हाक्ने एक लाख नेता तयार गरिँदै
लोसपामा के खिचडी पाक्दैछ ? भन्ने प्रश्नमा महासचिव झाले भने, ‘हामी पार्टीबाट छुट्टिने अभियानमा लागिरहेका छौं।’
को-को ? छुट्टिँदै छन् ? भन्ने अर्को प्रश्नमा उनले भने, ‘राष्ट्रिय मुक्ति क्रान्ति गर्नेहरु हाम्रो कित्तामा आउनुहुन्छ।’
नेपालका नयाँ पुराना अनुसारबाट राष्ट्रिय क्रान्ति सम्भव नहुने नेता झाले तर्क राखेका छन् । ‘देखिएको र चिनिएको मान्छेले अब के हुन्छ क्रान्ति ?’प्रश्न गर्दै उनले भने,‘पुराना सडेगलेका नेताहरुबाट संघर्ष हुँदैन। यिनीहरुले गर्छ भने पुरानै ढर्राको काम गर्छ। यसले कहिँ पुग्दैन। त्यसैले फरक सोचले आन्दोलनको तयारी भइरहेको छ। ’ उनले भने, ‘यसका लागि नयाँ अनुहारका १ लाख क्रान्तिकारी यौद्धा साथीहरुलाई तालिम दिइरहेका छौं।’
नेता महतोले तत्काल लोसपा नछाड्ने
तत्कालका लागि नेता महतो पक्षधर लोसपामै बसेर आन्दोलनको तयारी गर्ने मुडमा छन्। महतो पक्षधर नेता झाले भने,‘हामी पार्टी घोषणा गर्दैनौं, राष्ट्रिय मुक्ति क्रान्तिबाट बहुल राष्ट्रिय राज्य निर्माणका लागि अभियान चलाउँछौं। लोसपा परित्याग गरेका छैनौं। अहिले गर्ने कुरा पनि छैन। विकल्पसहितको मान्यतासहित काम गरिरहेका छौं।’ साभार:अन्नपूर्ण पाेष्टबाट

