Madhes Khabar
अर्थतन्‍त्र

सानो पाइला सहकारीले बिना धितो ऋण प्रवाह गरेको खुलासा

वीरगन्ज,१३माघः वीरगन्ज १० आदर्शनगरस्थित शाखा कार्यालय सञ्चालन गरेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले कानूनविपरीत कार्यक्षेत्र बाहिर बिना धितो करोडौँ रुपैयाँ ऋण प्रवाह गरेको पाइएको छ । सहकारीका पूर्व सञ्चालक तथा संरक्षक जीबी राईका अन्य कम्पनी र चितवन, रुपन्देही र पोखरामा सञ्चालनमा रहेका उनको सहकारीका कर्मचारी र सञ्चालक समिति सदस्यको नाममा समेत करोडौँ रुपैयाँ ऋण प्रवाह भएको छ ।

तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको वडा नम्बर ८, १३, १४, १८ र १९ कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ निक्षेप जम्मा गरेको थियो ।

वीरगन्जका बचतकर्ताको निक्षेप सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण लगानी गरेको छ । वीरगन्ज महानगरपालिकाका अनुसार बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरिएको छ ।

जीबी राई सञ्चालक रहेको नेचर हब ईन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रा.लिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियलस्टेटलाई १ करोड एक लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ ।

राईका निकट मानिएका विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा एक करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा एक करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख रुपैयाँ ऋण प्रवाह गरिएको छ ।

साहारा चितवन बचत तथा ऋण सहकारीको चितवनको टाँडी, पर्सा र नारायणघाटमा रहेको तीनवटा शाखाका व्यवस्थापक दिनेश रोकाको नाममा वीरगन्जको सानो पाइला सहकारीबाट २ करोड ३९ लाख रुपैयाँ ऋण लगानी भएको छ ।

साहारा चितवन सहकारीको सञ्चालक समितिका अध्यक्ष सागर केसीको नाममा एक करोड १७ लाख रुपैयाँ, उपाध्यक्ष हेमन्त अधिकारीको नाममा एक करोड ६७ लाख रुपैयाँ, सदस्य छत्रमणी भट्टराईको नाममा ८६ लाख ऋण प्रवाह भएको छ ।

यसैगरि जीबी राई नै अध्यक्ष रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको लोन अधिकृत बुद्धि गुरुङलाई ८६ लाख र सहकारी सञ्चालक समितिका पूर्व सचित सुरज श्रेष्ठलाई एक करोड ६ लाख रुपैयाँ ऋण लगानी गरिएको देखिएको छ ।

जीबी राईकै बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीमा कार्यरत कर्मचारी सुनिता पुनको नाममा एक करोड पाँच लाख, विष्णु माया गुरुङको नाममा एक करोड ६ लाख र रोशनी गुरुङको नाममा एक करोड २८ लाख ऋण प्रवाह गरिएको छ ।

महानगरपालिकाको सहकारी, रोजगार तथा उद्दम प्रवर्द्धन शाखा प्रमुख सुनिल कर्णका अनुसार सहकारीको सदस्य नरहेकालाई सहकारीले ऋण प्रवाह गर्न मिल्दैन् । कार्यक्षेत्र बाहिर गएर लगानी गर्ने कार्य पनि ऐन विपरीतको कार्य हो ।

सानो पाइलाले ऐन विपरीत ऋण लगानी गरेको पाइएपछि महानगरपालिकाले समस्याग्रस्त घोषणा गरि कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको उनले बताए । वीरगन्जको बचतकर्ताको पैसा जम्मा गरि ऐन विपरीत बाहिर लगानी गरिएको छ, उनले भने, कार्यक्षेत्र बाहिर ऋण लगानी गर्न मिल्दैन् ।

बचत रहेको निक्षेप झिक्न नपाएपछि बचतकर्ताको उजुरी पछि वीरगन्ज महानगरपालिकाले गत असार २४ मा सानो पाइला सहकारीका संरक्षक जीबी राई, कोषाध्यक्ष कुमार रम्तेल (पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन गरि ठगी गरेको आरोपमा हाल पक्राउ परेका) , व्यवस्थापक असरफ अली लगायतलाई महानगरमा झिकाई छलफल गरेको थियो ।

बचतकर्ता सदस्यहरुको बचत निक्षेप र सदस्यहरुलाई ऋण लगानी गरेको विवरण उपलब्ध गराउने, सहकारीको वित्तीय स्थिती खुल्ने स्वेत पत्र जारी गर्ने लिखित निर्णय भएको थियो ।

साउन १५ मा सहकारीले बुझाएको स्वेत पत्रमा संस्थाको अचल सम्पक्तिको स्पष्ट विवरण उल्लेख नभएको, बचतकर्तालाई बचत फिर्ता गर्ने समयावधि सहितको कार्य योजना उल्लेख नभएको र अगामी दिनमा संस्थाको विकासका लागि ठोस योजना उल्लेख नभएकोले महानगरपालिकाको आर्थिक विकास समितिले साउन २४ मा सहकारी सञ्चालक लगायतका जिम्मेवार पदाधिकारीले बचतकर्ताको हित विपरीत सहकारी ऐन बर्खिलाप कार्य गरेको ठहर गरेको थियो ।

ठगीजन्य क्रियाकलापमा सञ्चालक लगायतका पदाधिकारी संलग्न रहेको देखिएकाले सहकारी ऐन २०७५ र नियमावली २०७८ बमोजिम संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्ने निर्णय गरेको थियो । बैंक खाता लगायत चल अचल सम्पक्ति रोका र कारवाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको थियो ।

वीरगन्जका मेयर राजेशमान सिंहले बचतकर्ताको पैसा हिनामिना गर्ने सानो पाइला सहकारीका सञ्चालक र पदाधिकारीलाई कारवाहीका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल राष्ट्र बैंकलाई गत असोजमै पत्राचार गरिएको बताउँछन् । ‘वीरगन्जको बचतकर्ताको पैसा गैर कानुनी तरिकाले बाहिर लगानी गरिएको छ,’ उनले भने, ‘बचतकर्ताको बिचल्ली भएको छ ।’

वीरगन्जको मुटु मानिने आदर्शनगरमा कार्यालय रहेको उक्त सहकारीमा ७ महिनादेखि ताला झुन्डिएको छ । डेढ वर्षदेखि सञ्चालकहरु सम्पर्कविहिन छन् । गत असोज पहिलो साता सहकारीका संस्थापक, सञ्चालक समितिका सदस्य र कर्मचारीसहित १३ जनाविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतले सानो पाइला सहकारीका संस्थापक गितेन्द्र बाबु राई (जीबी राई), वर्तमान अध्यक्ष अनन्त बाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्र बाबु राई, पूर्व सचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेल लगायत १३ जना विरुद्ध पक्राउ पुजी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएकामध्ये संस्थापक जीबी राई र अध्यक्ष अनन्त बाबु राई सहोदर दाजुभाई हुन भने पूर्व सचिव तस्बिरन मियाँ र प्रबन्धक असरफ अलि सिद्धिकी पति÷पत्नी हुन् । साभार : कान्तिपुरबाट

Related posts

सरकार र उद्योगी मिलेर बढाए ग्यासको भाउ,अब एक सिलिण्डर ग्यासको मूल्य कति ?

MadhesKhabar

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

२० अर्बभन्दा बढी बक्याैता विद्युत महशुल नतिर्ने ५८ उद्योगलाई कारबाही गर्न सांसद यादवकाे माग

MadhesKhabar

Leave a Comment