Madhes Khabar
स्थानिय हेडलाइन

बारा : दलित युवासंग प्रेम गरेकाे भन्दै बुबाले गरे छाेरीकाे हत्या

सांकेतिक फोटो

बारा,१०माघ: दलित युवासँग प्रेममा रहेको भन्दै १५ वर्षीय छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ । बाराको फेटा गाउँपालिका – १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी का‌ैशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महतोले गत साउन ११ मा मामाघर बस्दै आएकी छोरी का‌ैशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुपाैलीमा रहेको खोला किनारमा हत्या गरेर शव फालेको प्रहरीले बताएको छ ।

काैशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो । जसको पहिचान करिब २० दिन अघि मात्रै भएको बारा प्रहरीले जनाएको छ ।

साउन १३ मा प्रहरीले शव फेला पारे पनि त्यसको पहिचान भने हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार शवको बारेमा कुनै जानकारी नपाएपछि केसलाई थाती राखिएको थियो । तर, करिब साढे ५ महिनादेखि छोरी बेपत्ता रहेकोबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि सोधपुछ गर्दै जाँदा महतोले छोरीको हत्या गरेको स्वीकार गरेकाे प्रहरी उपरीक्षक शाहले बताए ।

काैशिलाको शव पहिचान भएपछि बुबा महतोलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको र विस्तृत जानकारी आउन बाँकी रहेको पनि शाहले बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले त्रिवेणीका स्थानीयहरूबाट महतोले आफ्नै छोरीलाई बेपत्ता बनाएको जानकारी आएपछि त्यसको अनुसन्धान गर्दा छोरीको हत्यामा बुवाको संलग्नता रहेको खुलेको बताए ।

पुस २० गते चार महिनादेखि छोरीलाई बेपत्ता बनाएको सूचना पाएपछि गाउँ र परिवारको २० जनाभन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गर्दा परिवारबाट नै बेपत्ता बनाइएकी किशोरीको हत्या गरेको र घटनालाई लुकाउन खोजिएको काफ्लेले बताए ।

‘सुरुमा छोरीलाई बेपत्ता बनाइएको बारेमा सोध्दा हरिन्द्रले छोरी हराएको जवाफ दिएर घटनालाई लुकाउन खोजेका थिए,’ बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले भने, ‘अनुसन्धान गर्दै जाँदा छोरीलाई घरबाट लगेर पर्सा जिल्लामा हत्या गरेर फालिएको पुष्टि भएको हो ।’

मृतक का‌ैशिला स्थानीय गङ्गा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेको र स्थानीय कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेका कारणले उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।

गाउँमा बैठासँगको सम्बन्धनको बारेमा हल्ला चलेपछि छोरीलाई पर्साको विश्रामपुरमा रहेको मामा घर पठाइएको पनि जवाफ महतोले दिएको प्रहरीले बताएको छ ।

बैठा दलित समुदायको रहेको र ऊसँग कुनै सम्बन्ध नराख्न परिवारले पटक-पटक कौशिलालाई दबाब दिँदै आएको तर, छोरीले बैठासँगको सम्बन्ध कायम राखेको बारे गाउँमा हल्ला चलेपछि बाध्य भएर छोरीको हत्या गर्नु परेको हरिन्द्रले स्विकारेको न्यौपानेले बताए ।

न्यौपानेका अनुसार महतोले दुई जना सहयोगीसँग मिलेर छोरीलाई गाडीमा लगेर गाडीमै हत्या गरेको र शवलाई खोला किनारमा फालेका स्वीकारेका छन् । बारा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेर घटना पर्सामा भएकोले थप कारबाहीका लागि पक्राउ परेका महतोलाई पर्सा प्रहरीको जिम्मा लगाएको छ ।साभार: नागरिकबाट ।

Related posts

पर्सा जिल्लामा १६९ मतदान स्थल,११ हजार जनशक्ति खटिने

MadhesKhabar

बाराको त्रिवेणी स्पिनिङमा प्रहरी र मजदुर बिच झडप , ३१ राउण्ड अश्रु ग्याँस प्रहार , १३ प्रहरी घाइते

MadhesKhabar

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदबहाली,जेनजी आन्दोलनका मृतकलाई १० लाख दिने निर्णय

MadhesKhabar

Leave a Comment