वीरगन्ज,२४पुष:वीरगन्जको ग्रामीण भेगबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय कुखुराकाे चल्ला ठूलाे परिमाणमा बरामद गरी नष्ट गरेकाे छ।वीरगन्ज महानगरपालिका वडा नम्बर २१ डाेकैला बहुअरीबाट प्रहरीले ३ हजार ८ सय वटा भारतीय बोइलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
उनका अनुसार तस्करहरुले भारतबाट बिआर ०५ डी ९७२५ र बिआर ०५ क्यु ३२६५ नम्बरको मोटरसाइकलमा कुखुराको चल्ला ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेकाे थियाे।तस्करहरु भने प्रहरीलाई देखेपछि चल्ला छोडेर फरार भएकाेले उनिहरुलाई पक्राउ गर्न नसकिएको थापाले बताए ।
बरामद चल्ला पशु क्वारेन्टाइन कार्यालय सिर्सियाकाे राेहबरमा नष्ट गरिएकाे उनले जानकारी दिए।
नेपालमा पशुपंक्षीजन्य चिजबस्तु आयात र बिक्रीवितरणमा प्रतिबन्ध लगाइएकोले ती चल्लाहरु बरामद गरी नष्ट गरिएको थापाले बताए।

