Madhes Khabar
स्वास्थ्य

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत अब १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं,१५पुष : स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन्।

यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो। बीमितलाई एक लाख बराबरको उपचार खर्च बीमा बोर्डले व्यहोर्ने गर्दछ। उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउन सहभुक्तानी प्रणाली लागू गरिएको बताइन्। ‘बीमितले अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गराउन थाले’, उनले भनिन्, ‘त्यसलाई कम गरेर आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर बिरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौँ।’ उनका अनुसार सहभुक्तानी प्रणाली आगामी माघ १ गतेदेखि लागू हुनेछ।

 

प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैयासम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने बीमितले १० प्रतिशत रकम तिर्न नपर्ने उनको भनाइ छ। सहभुक्तानी प्रणाली संघीय अस्पताल, २५ शैयाभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल तथा सबै निजी एवं सामुदायिक अस्पतालमा लागू हुनेछ।

गरिब, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिर्नु नपर्ने) लागू नगरिने कार्यविधिमा उल्लेख गरिएको छ।

बोर्डमा हालसम्म ७४ लाख बीमित भइसके पनि करिब ४७ लाख मात्र सक्रिय रहेका छन्। विसं २०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो। अहिले ७७ जिल्लामा लागू गरिएको स्वास्थ्य बीमा बोर्डबाट एक लाख रुपैयाँसम्म बीमित परिवारले निःशुल्क उपचार सेवा पाउने छन्।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

नारायणी अस्पतालका पूर्व मेसुसहित सबै १० जनाले विशेष अदालतबाट पाए सफाइ

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा स्वास्थ्य कार्यालय पर्साले सहयोगमा दियो ४१ प्रकारका औषधि

MadhesKhabar

नारायणी अस्पतालकाे सेवा सहज र प्रभावकारी बनाउन युवा नेताहरुकाे आग्रह

MadhesKhabar

Leave a Comment