Madhes Khabar
स्थानिय हेडलाइन

कलैयामा प्रिन्सिपल स्वर्णकारकाे हत्या गर्ने भारतका मुख्य सुटर सिंह पक्राउ

बारा,१०पुष:बाराको कलैयामा झन्डै दुई महिना अगाडि बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोप लागेका मुख्य सुटर सुजित सिंहलाई प्रहरीले पक्राउ गरेकाे छ ।

स्वर्णकारको हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई बारा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराको स्रोतका अनुसार सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट पक्राउ गरिएकाे हाे । उनलाई पक्राउ गर्ने क्रममा गोली समेत प्रहार गरिएको बारा प्रहरी स्रोतले जनाएको छ ।प्रहरी स्रोतका अनुसार सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको घुँडाभन्दा मुनि गोली हानेको छ ।

भारत बिहार राज्यको तीनकोनी गाउँका ३५ वर्षीय सिंह दुवै खुट्टामा गोली लागेर घाइते भएकाे र उनकाे प्रादेशिक अस्पताल कलैयामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

प्रहरीले सिंहको साथमा रहेको बन्दुक र त्यसमा लाग्ने गोलीसमेत बरामद गरेको जनाएको छ । सिंह हतियारसहित नेपाल प्रवेश गरेको सूचनापछि खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी अधिकारीको भनाइ छ ।

सिंहलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले पनि पुष्टि गरे ।

सिंहको समूहले गत कार्तिक १३ गतेका दिन प्रिन्सिपल स्वर्णकारलाई बाल एकता स्कुल नजिकै रहेको मदरसा अगाडिकाे सडकमा गोली हानेर हत्या गरेको थियो । टाउको र घाँटीमा गोली लागेर गम्भीर रूपले घाइते भएका स्वर्णकारको वीरगन्जस्थित नेपाल मेडीसिटी बयोधा अस्पतालमा त्यहि दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

पक्राउ परेका सिंहको यसअघि पनि बारा जिल्लामा भएका अन्य गोली काण्डहरूमा संलग्नता रहेकाे प्रहरीको दाबी छ ।

Related posts

आज छठ पर्व हर्षोल्लाशका साथ मनाइदै

MadhesKhabar

वीरगन्जमा भइरहेको अघोषित लोडसेडिङ नहटाए आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी

MadhesKhabar

पर्सामा सवारी दुर्घटना ह्वात्तै बढ्यो : एक वर्षमा ५१ को मृत्यु, ८०४ घाइते

MadhesKhabar

Leave a Comment