काठमाडौं,२५कार्तिकःहरेक वर्ष विद्युतीय व्यवसायीहरुले बजारको मागअनुसार झिलिमिली बत्तीहरु आयात गर्ने गरेका छन् । दिपावलीमा हरेक वर्ष झिलिमिली माला लगायतका बत्तीहरुको माग बढेसँगै आयातमा पनि वृद्धि हुँदै आएको छ । दिपावलीमा हरेक वर्ष १० प्रतिशतले आयात वृद्धि हुँदै गएको व्यवसायीहरु बताउँछन् ।
दिपावलीको लागि गएको वर्ष ३६ करोड बराबरका विद्युतीय दियो, मालाबत्ती लगायत झिलिमिली बत्तीहरु नेपालमा आयात भएकोमा यो वर्ष १० प्रतिशतले वृद्धि भएर लगभग ४० देखि ४५ करोड रुपैयाँ बराबरको विद्युतीय बत्ती आयात भएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बताए ।
उनका अनुसार यस वर्ष दिपावलीका लागि करिब ४५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । देवकोटाले विशेषगरी दिपावलीमा लक्ष्मीपूजाको दिनसम्म झिलिमिली बत्तीको व्यापार हुने बताए । उनले आर्थिक मन्दीका कारण यस वर्षको दिपावलीमा आयात भएअनुसार झिलिमिली बत्तीको व्यापार धेरै नहुने अवस्था देखिएको बताए। उनले बजारको माग भन्दा बढी झिलिमिली बत्ती आयात भएको भन्दै बजारमा झिलिमिली बत्तीको माग गएको वर्षको तुलनामा कमी रहेको बताउनु भयो ।
उनले भने , ‘दिपावलीलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी माला बत्तीहरु मागसँगै व्यापार बढेको छ । त्यहीअनुरुप सप्लाई पनि भएको छ । विगत भन्दा माला बत्तीहरुको आयात पनि बढेर आएको छ । तर जुन अनुपातमा बत्तीहरुको आयात बढे पनि व्यापार भने बढ्न सकेको छैन । आर्थिक संकुचनको कारण घर निर्माणसँग सम्बन्धित व्यवसाय भएकाले घर निर्माण नभएकाले व्यापारमा कमी आएको छ ।’
उनले भने ,‘गएको वर्षको दिपावलीमा ३६ करोड बराबरको झिलिमिली बत्तीहरुको आयात गरेका थियौँ । त्यहीअनुसार बजारमा गएको थियो । गएको वर्षको भन्दा आयात बढेर ४५ करोड बराबरको सामान आयात भएको छ । तर माग भने कम भएको छ ।’
उनले यसवर्ष एउटै झिलिमिली बत्तीमा ७ प्रतिशतसम्म मूल्यवृद्धि भएको बताए । उनले भन्सारमा चीनबाट आयात भएका बत्तीहरुको सरकारले मूल्याङ्कन डलरमा गर्दा व्यवसायी र उपभोक्ता मर्कामा परेको बताए । उनले झिलिमिलि बत्ती विशेषगरी चीन र भारतबाट आयात हुने गरेको बताए ।९० प्रतिशत बत्ती चीनबाट र बाँकी भारतबाट आयात हुने गरेको जानकारी उनले दिए ।