Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

सुरु भयो तिहार, आज काग पूजा

काठमाडौं,२५कार्तिक: प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज शनिबारदेखि सुरु भएको छ ।

कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

आज बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो,’अधिकारले भने ।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ ।

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए ।

आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ ।

कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

भाइटीका कात्तिक २९ गते १०:५१ बजे उत्तम

कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए ।

सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ ।

भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै परेकाे छ ।त्यस दिन बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् ।

झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै वीरग लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ ।

बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ ।

जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ ।

नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।रासस

Related posts

वीरगन्ज बाल सुधारगृहबाट भागेका दुई बालकैदी भारतमा पक्राउ 

MadhesKhabar

वीरगन्ज नाकाबाट एक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ८१ अर्ब रुपैयाँ राजस्व संकलन

MadhesKhabar

महाशिवरात्रिमा वीरगञ्जसहित पर्साका शिवालयहरूमा भक्तजनको घुइँचो

MadhesKhabar

Leave a Comment