Madhes Khabar
खेलकुद

सानदार व्याटिङ गरेपनि न्युजिल्यान्ड अष्ट्रेलियासँग ५ रनले पराजित

वीरगन्ज,११कार्तिक:न्युजिल्यान्ड सानदार ब्याटिङ प्रदर्शनका बाबजुद आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियासँग पाँच रनले पराजित भएको छ । युवा ब्याटर रचिन रविन्द्रको सानदार शतकका बाबजुद न्युजिल्यान्डले जारी विश्वकपमा दोस्रो हार व्यहोरेको छ ।

शनिबार भएकाे खेलमा जितको लागि ३ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले ८९ बलमा ९ चौका र ५ छक्कासहित १ सय १६ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । डर्याल मिचेलले ५१ बलमा ६ चौका र १ छक्कासहित ५४ रन बनाए ।

अष्ट्रेलिया स्पिनर एडम जाम्पाले १० ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ७० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा ३ सय ८८ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलिया जितमा चोटपछि टोलीमा फर्किदै पहिलो खेल खेलेका ट्रविस हेडले ६७ बलमा १० चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । हेडले ५९ बलमै शतक पूरा गरेका हुन् । विश्वकपको आफ्नो पहिलो खेलमै उनले शतक हानेका हुन् ।

डेविड वार्नर ६५ बलमा ५ चौका र ६ छक्कासहित ८१ रनमा ग्लेन फिलिप्सको बलमा कट एण्ड बोल्ड आउट भए । यसअघि पाकिस्तानसँग १ सय ६३ र नेदरल्यान्ड्ससँग १ सय ४ रन बनाएका वार्नर शतकमा ह्याट्रिक हान्न चुकेका थिए ।

ग्लेन म्याक्सवेल २४ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । मार्नस लाबुसेन १८ र मिचेल स्टार्क १ रनमा आउट भए । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए ।

मिचेल सान्टनारले १० ओभरमा ८० रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । जेम्श निसम र म्याट हेनरीले समान एक विकेट लिए ।

यो जितसँगै अष्ट्रेलिया ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ । अष्ट्रेलियाले अव इंग्ल्यान्ड, अफगानिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । तीन मध्य दुई खेल जित निकाले अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ ।

उता न्युजिल्यान्डले दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंकासँग खेल्न बाँकी छ । न्युजिल्यान्डलाई पनि तीन मध्य दुई खेलमा जित आवश्यक पर्दछ ।

दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंका ५ खेलमा ४ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तान ६ खेलमा ४ अंकका साथ छैटौं स्थानमा छ । इंग्ल्यान्ड ५ खेलमा २ अंकका साथ नवौं स्थानमा छ ।

Related posts

क्वाटरफाइनलमा श्रीलंकासंग हार्‍यो नेपाल

MadhesKhabar

प्रथम सखुवाप्रसौनी क्रिकेट टुर्नामेन्टमा परवानीपुरको विजयी शुरुवात

MadhesKhabar

प्रधानमन्त्री कप क्रिकेटमा मधेसको लगातार दोस्रो हार

MadhesKhabar

Leave a Comment