वीरगन्ज,७कार्तिक: भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा बंगलादेशमाथि दक्षिण अफ्रिकाले सानदार जीत हात पारेकाे छ ।
मंगलबार राति भएकाे खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको हाे ।पाँच खेलमा चौथो जितका साथ दक्षिण अफ्रिका अंक तालिकाकाे दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना मजबुत बनाएको छ ।
जितको लागि ३ सय ८३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४६.४ ओभरमा २ सय ३३ रनमा अल आउट भयो । बंगलादेशका महमूदुल्लाह रियादले १ सय ११ बलमा ११ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ११ रनको शतकीय इनिङ खेले ।
थिए । महमुदूल्लाहको एकल प्रदर्शन जितको लागि पर्याप्त भने थिएन ।ओपनर तानजिद हसन १२, लिटन दास २२, नाज्मुल हसन डक, सकिब अल हसन १, मुश्ताफिजुर रहमान ८, मेहेदी हसन मिराज ११, नासुम अहमद १९ र हसन मोहम्मद १५ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले १० ओभरमा ६३ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । मार्को यानसन र लिजार्ड विलियम्सले समान दुई विकेट लिए । केशव महाराजले एक विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३५० रन भन्दा बढी बनाएको हो। यसअघि श्रीलंका विरुद्ध ४२८ रन बनाएको दक्षिण अफ्रिकाले इंगल्याण्ड विरुद्ध ३९९ रन खडा गरेको थियो।
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डिककले १ सय ५० बलमा १५ चौका र ७ छक्कासहित सर्वाधिक १सय ७४ रनको सानदार शतकीय इनिङ खेलेका थिए । जारी विश्वकपमा उनको तेस्रो शतक हो । डिककले पाँच नम्बरमा ब्याटिङ गर्न आएका हेनरिक क्लासनसँग मिलेर चौथो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए।
क्लासनले ५० बलमा २ चौका र ८ छक्कासहित ९० रनको विष्फोटक इनिङ खेले । ओपनर रिजा हेन्ड्रीक्स १२ रन बनाएर शोरीफुल इस्लामको बलमा बोल्ड भएका थिए। तेस्रो नम्बरमा आएका रास्सी भ्यान डर डुसेनले पनि १ रन मात्र बनाउँदै मेहिही हसन मिराजको सिकार बने।
त्यसपछि डीकक र कप्तान एइडन मारक्रम मिलेर तेस्रो विकेटका लागि १ सय ३१ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । मारक्रम ६९ बलमा ७ चौकासहित ६० रनमा आउट भए ।
डेभिड मिलर १५ बलमा १ चौका र ४ छक्कासहित ३४ रनमा नट आउट रहे ।
बंगलादेशका लागि हसन महमूदले ६ ओभरमा ६७ रन खर्चिदै सर्वाधिक दुई विकेट लिए। मेहेदी हसन मिराज, शोरीफुल इस्लाम र कप्तान शकिब अल हसनले समान एक एक विकेट लिए।
दक्षिण अफ्रिका ५ खेलमा ४ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

