काठमाडौं,२२मंसिरः यू–१९ एशिया कप क्रिकेटको उपाधिका लागि फाइनलमा भारत र बंगलादेश भिड्ने भएका छन् ।शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानलाई र दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका पुगेका हुन् ।
सेमिफाइनलमा बंगलादेशले पाकिस्तानलाई ७ विकेटले हराएको हो । पाकिस्तानले दिएको १ सय १७ रनको लक्ष्य बंगलादेशले २२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ३७ ओभरमा १ सय १६ रन मात्र बनाएको थियो ।
यस्तै दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई ७ विकेटले हरायो । श्रीलंकाले दिएको १ सय ७४ रनको लक्ष्य भारतले १ सय ७० बलअघि नै मात्र ३ विकेट गुमाएर भेट्यायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर २ बलमा १ सय ७३ रनमात्र बनाएको थियो ।
भारत र बंगलादेशबीचको फाइनल खेल आइतबार हुनेछ ।एशियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा यूएईमा भइरहेको एशिया कपमा नेपाल पनि सहभागी भएको थियो । नेपालले अफगानिस्तानसँगको खेल जिते पनि समूह चरणबाटै बाहिरिएको थियो ।

