Madhes Khabar
वाग्मती प्रदेश

भुकम्पबाट धादिङमा ६ वटा घर क्षतिग्रस्त ,१८ वटा घरमा आंशिक क्षति

धादिङ,६कार्तिक: आइतबार बिहानको भूकम्पबाट धादिङमा ६ वटा घर क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ।

आइतबार साँझसम्मको अद्यावधिक विवरणअनुसार १८ वटा घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरले जानकारी दिए।

‘आइतबार साँझसम्म ६ वटा घर क्षतिग्रस्त बनेको र १८ वटा घरमा आंशिक क्षति पुगेको विवरण प्राप्त भएको छ। आज पनि हामी विवरण संकलन गर्छौं। घर भत्किएकालाई वैकल्पिक बसोबासका लागि त्रिपाल पनि पठाइसकेका छौं,’ उनले सेतोपाटीसँग भने।

भूकम्पले ज्वालामुखी गाउँपालिका—५ को सिम्ले, भाङे, कालिमाटीलगायतका ठाउँका घरहरूमा क्षति पुर्‍याएको उपाध्यक्ष धर्मबहादुर अर्यालले जानकारी दिए। उनका अनुसार ज्वालामुखी—७ को रामपुरबेंसीमा पनि क्षति पुगेको छ।

त्यस्तै, ज्वालामुखी—१ को तल्लोमझुवा, पिपलटार, माझीटार आदि ठाउँमा २०७२ वैशाख १२ को भूकम्प अगाडिकै संरचनामा क्षति पुगेको उपाध्यक्ष अर्यालले बताए।

‘अहिलेको भूकम्पबाट प्रभावित ठाउँ बूढीगण्डकी परियोजनाको डुबान क्षेत्र पर्छ। त्यहाँका अधिकांश घरहरूले मुआब्जा लिइसकेको अवस्था पनि छ। मुआब्जा लिएका धेरैले पुरानै संरचना नै भोगचलन गर्दैआएको र नयाँ बनाइ नसकेको अवस्था छ। अहिले तत्कालका लागि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, रेडक्रस सोसाइटीले अस्थायी बसोबासको प्रबन्ध गरेका छौं,’ उनले भने, ‘दीर्घकालका लागि कसरी प्रबन्ध गर्ने भनेर छलफलमै छौं।’

धादिङकाे ज्वालामुखी—५ खरी केन्द्र गरेर आइतबार बिहान ७ः३९ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि बिहान ८ः८ मा ४.२, ८ः२८ मा ४.३ र ८ः५९ मा ४.१ म्याग्निच्युडको पराकम्प गएको थियो।

अपराह्न ४ः०३ बजे ४.४ र साँझ ५ः३१ र ५ः३३ मा क्रमशः ५.० र ५.१ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ केन्द्र गरी आइतबार गएको भूकम्प नयाँ कम्पन नभएको र २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पको पराकम्पन भएको बताएको छ।

Related posts

नारायणी नदीमा एक जना पुरुषको शव फेला

MadhesKhabar

चितवनको सिमलतालमा फेरि सवारी दुर्घटना,बाराका २ जनासहित ३ जना घाइते

MadhesKhabar

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे सुमाे मकवानपुरमा दुर्घटना हुदाँ १३ जना घाइते

MadhesKhabar

Leave a Comment