
वीरगन्ज,८असोज : भारतसंग खुल्ला सीमा जोडिएको बाराको पचरौता नगरपालिका वडा नम्बर १ स्थित नेपाल – भारत सिमास्थित दशगजा क्षेत्रमा हत्या गरिएको अवस्थामा एक जना पुरुषको शव भेटिएको भएको छ ।
सोमबार बिहान दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीय ३३ वर्षीय अमरेश कुमार सिंहको शव भेटिएको हो ।मृतक सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरिएको चोटपटक देखिएको बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए ।
काफलेका अनुसार , मृतक सिंह पूर्व प्रहरी समेत हुन् । उनि सशस्त्र प्रहरीमा पाँच वर्ष जवानका रूपमा कार्यरत थिए । केही महिना अगाडि मात्रै उनले जागिर छोडेको काफ्लेले जानकारी दिए ।
स्थानीयवासीका अनुसार जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरेका थिए । यद्यपि केही समय अघि मात्रै उनले रक्सी पसल पनि बन्द गरेका थिए । हाल उनी गाउँमै खेतीपाती गर्दै आएका थिए ।
प्रहरीले सिंहको हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । ‘तीन जनाले मिलेर सिंहको हत्या गरेको बुझिएको छ । हामीले दुई जनालाई नियन्त्रणमा लिइसकेका छौँ । तेस्रो व्यक्तिको खोजी कार्य जारी छ,’ काफ्लेले भने, ‘के कारणले हत्या गरेको हो भन्ने अहिलेसम्म पनि खुल्न सकेको छैन ।’ पक्राउ पर्नेमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतो रहेको उनले जानकारी दिए ।
सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपाल तर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिन पहिला सिंहसँग झगडा समेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

