वीरगन्ज,४ भदौं : पर्सामा साहुकारबाट कुटिएकी एकल महिलालाई प्रहरीले न्याय दिनुको सट्टा उल्टै थुनामा राखेको घटना सार्वजनिक भएको छ ।पर्साको छिपहरमाई गाउंपालिका वडा नम्बर २ टिहुकी ५० वर्षिया तारा देवीले छोरासहित आफुलाई आइतबार दिउँसो प्रहरीले पोखरियास्थित इलाका प्रहरी कार्यालयमा थुनेर राति ११ बजेतिर छाडेको आरोप लगाएकी हुन् ।
सोमबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरेर पिडित तारा देवीले भनिन्,‘ आइतबार बिहानै साहुकार र उनका मान्छेहरुले घरमै आएर हामी दुई आमा छोरालाई मर्नेगरि कुटेर घाइते बनाए ।प्रहरीले हामीलाई न्याय दिनुको सट्टा उल्टै थुनेर राति ११ बजे छाड्यो ।
तारादेवीका अनुसार , झलमहीयाका साहुकार वीरेन्द्र साह तेलीसंग ४ लाख रुपेयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको सावाँ र ब्याज गरि ५ लाख ६८ हजार रुपैयाँ तिर्नुपर्ने थियो । त्यसैका लागि तारादेवीले गाँउकै भोला साह कानुसंग गत असार १७ गते १२ लाख रुपैयाँ लिएकी थिइन् ।
कानुले १२ लाख रुपैयाँ दिए बापत तारादेवीको ६ कठ्ठा घडेरी मालपोतत कार्यालयमा गएर आफनो नाममा रजिष्ट्रेसन पास गरिदिन दबाब दिएका थिए । तर आफुले करोडौं मुल्यको जग्गा १२ लाखमै दिन नमानेपछि आइतबार घरमै आएर आमा छोरा दुवैलाई निर्घात रुपमा कुटपिट गरि घाइते बनाएको र उल्टै प्रहरीमा लगेर थुन्नपनि लगाएको तारादेवीले बताइन् ।
पत्रकार सम्मेलनमा तारादेवीले भनिन्,‘ गाँउमा घडेरीको भाउ कठ्ठाको २० लाख छ । तर कानुनले १२ लाखमै रोडसंग टाँसिएको ६ कठ्ठा घडेरी पास गरिदिन दबाब दिए ।तर मैले मानिन । त्यसैकारण घरमै हुल बाँधेर आएका उनिहरुले हामी आमा छोरालाई मर्ने गरी कुटे ।घाइतेपनि बनाए । अनि उल्टै प्रहरीकोमा लगेर थुन्नपनि लगाए ।
इलाका प्रहरी कार्यालयमा पुग्दा प्रहरीले आफुहरुको पिडा सुन्नुको सट्टा उल्टै थुनामा राखेको कुटपिटबाट घाइते भएका तारादेवीका छोरा गोखुल महत्तो कंकरले गुनासो पत्रकार सम्मेलनमा सुनाए ।आफुहरुलाई साहुकार कानुसंगै उनि निकटका प्रदीप साह कानु, सन्दीप साह कानु , भगत साह कानु , पागल साह कानु , बृजेश यादव कानु सहितकाले कुटपिट गरी घाइते बनाएको कंकरले बताए ।
कंकरका अनुसार , साहुकार कानुबाट गत असार १७ गते १२ लाख लिएपछि त्यसबापत ६ कठ्ठा घडेरी पास गरिदिन दबाब र धम्की दिएपछि जिउ ज्यानको सुरक्षाको माग गर्दै पिडित तारादेवीले यसअघि असार २२ गतेपनि जिल्ला प्रहरी कार्यालय पर्साममा निवेदन दिएका थिए ।
तर त्यसबेलापनि प्रहरीले आफुहरुको कुरै नसुनेको कंकरले दुखेसो पोखे । उनले भने,‘ आइतबार त घरमै पसेर कुटे , लछार पछार गर्दै बाहिर निकालेर प्रहरीकोमा लगेर थुन्न लगाए ।
पत्रकार सम्मेलनमा साहुकार कानुसंग लिएको १२ लाख रुपैयाँ फिर्ता गर्न आफु तयार रहेको बताइन् । उनले भनिन्,‘ मैले लिएको १२ लाख फिर्ता गर्न तयार छु तर हामी आमा छोरालाई कुटेर घाइते बनाउनेलाई प्रहरीले पक्रेर कारबाही गर्नुपरयो ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले भने पिडित भनिएकी तारादेवी र उनका छोरालाई प्रहरी थुनामा नराखेको दाबी गरे । लेनदेनको विवादमा उजुरी परेपछि प्रहरी कार्यालयमा आइतबार दुवै पक्षलाई बोलाएको तर प्रहरी थुनामा कसैलाईपनि नराखेको उनले बताए ।
केसीले भने,‘ छलफलमा तारादेवी र उनका छोरा माथि हातपात हुन सक्ने जोखीम थियो । त्यहि भएर सुरक्षाको दृष्टिकोणले भित्रको कोठामा राखिएको थियो । प्रहरी थुनामा एक सेकेण्डपनि राखिएको छैन ।
प्रहरी निरीक्षक केसीले बेलुकी अबेरसम्म चलेको छलफलमा समस्या नसुल्झिएपछि बुधबार फेरि प्रहरी कार्यालयमा हाजीर हुने शर्तमा तारादेवी र उनका छोरालाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताको जिम्ममा घर पठाइएको बताए ।कुटपिटमा संलग्नलाई कारबाहीको विषयमा भने पिडितहरुलाई अस्पतालबाट उपचार गराई प्रहरी केसको रिपोर्टसहितको जाहेरी लिएर आउन भनिएकोपनि उनले बताए ।

