
काठमाडौं, २५ साउन : नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई पक्राउ गरेको हो ।
शर्माले आफूलाई काठमाडौंस्थित घरबाटै प्रहरीले पक्राउ गरेको जानकारी कांग्रेस नेताहरूलाई दिएका छन्।
‘उहाँले म्यासेज गरेर मलाई घर (मण्डिखाटार) बाटै पक्राउ गरिएको जानकारी गराउनुभएको छ,’ कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भने।
भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । उक्त प्रमाणपत्रका आधारमा शर्माले एमबीबीएस अध्ययन गरेका थिए ।
सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।
मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।
शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक पनि हुन्।

