बारा,२०साउन: उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहले कबाडी करको नाममा उद्योगका कच्चा पदर्थमा समेत कर लगाएको बताउँदै त्याे हटाउन निर्देशन दिएका छन् ।
बाराकाे जितपुरमा शनिबार जितपुर सिमरा उद्योग वाणिज्य संघकाे छैठौं स्थापना दिवसको अवसरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री रिजालले पालिकाहरुले अटेर गरे संघ सरकार चुप लागेर नबस्ने चेतावनीसमेत दिए ।
स्थानीय सरकारले लिने गरेको दोहोरो कर तत्काल फिर्ता लिन समेत आग्रह गर्दै उनले अन्यथा संघ सरकारले आवश्यक कदम चाल्ने बताए ।
सरकार नीजि क्षेत्रको साथमा रहेको बताउदै मन्त्री रिजालले नीजि क्षेत्रको सबै समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।
उद्योग मन्त्री रिजालले सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगले तिर्नुपर्ने जग्गाको भाँडा न्यून गरेर व्यवसायीलाई आकर्षित गर्ने योजना रहेकोपनि बताए । निर्यातजन्य उद्योग स्थापना गर्न निःशुल्क जमिन समेत उपलब्ध गराउन सकिने उनले बताए ।सरकारले चलाएका जिर्ण उद्योगहरुलाई अब निजी क्षेत्र समेतको सहभागिता सञ्चालन गर्ने योजना रहेकोपनि उनले जानकारी गराए ।
जितपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा.सुबोध कुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा लगायतकाले पनि मन्तव्य व्यक्त गरेका थिए ।