बारा,३०असाेज: भारतबाट तस्करी गरी बारामा ल्याइएको ७० बोरा धान तस्कर र स्थानीयले लुटेर लगेको घटना सार्वजनिक भएको छ। धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली माथि प्रहरी चौकी छतवामा तस्कर तथा स्थानीयले सोमबार आक्रमण गरेका थिए।
प्रहरी टोली माथि आक्रमण गराउने कार्यमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले छानबिन गरिरहेको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।
छानबिनका लागि प्रहरी चौकी छतवाका इन्चार्ज वरिष्ठ सई श्यामबाबु यादव लगायत तीन जनालाई जिल्लामा तानिएको उपरीक्षक काफ्लेले जानकारी दिए।
तस्करीको धान नियन्त्रणमा लिन गएको इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज बिनोद बोहराको नेतृत्वमा खटिएको टोली माथि वरिष्ठ सई यादवले तस्कर समूहलाई उचालेर आक्रमण गराएको आरोप आक्रमणमा परेका प्रहरीहरुले लगाएका छन्।
जिल्लाको प्रहरी टोली माथि आक्रमण गरेर तस्कर समूह तथा स्थानीयले धान लुटेर लगेका हुन्। स्थानीय प्रहरीको असहयोगको कारणले सोमबार तस्कर समूह र गाउँलेहरू मिलेर प्रहरी माथि नै आक्रमण भएको तथा तस्करीको धान समेत लिएर गएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिनोद बोहोराले जानकारी दिए।
आइतबार राति छतवामा पुगेको जिल्लाको टोलीले भारतबाट तस्करीको धान नेपालतर्फ ल्याइरहेको अवस्थामा भारतीय नम्बरको ४ वटा मोटरसाइकल र ५५ बोरा धान बरामद गरेको थियो।
बरामद गरिएको धान बाहेक पनि ठुलो मात्रामा दशगजा क्षेत्रमा बेवारिसे अवस्थामा धानको बोरा छोडिएको सूचनाका आधारमा त्यसलाई नियन्त्रणमा लिन साेमबार जिल्लाबाटै प्रहरी टोली खटिएको थियो।
दशगजा क्षेत्रमा रहेको धानको बोरालाई नियन्त्रण लिन पुगेको प्रहरीलाई सुरुमा स्थानीयहरुले धानको बोरा लैजान सहमति दिए पनि पछि तस्कर र केही स्थानीयले एक्कासि प्रहरी माथि आक्रमण गरेका थिए।
प्रहरी माथि गरिएको आक्रमणले स्थिति तनावग्रस्त बने पछि जिल्लाबाट गएका प्रहरी टोली दशगजा क्षेत्रबाट पछि हटेर प्रहरी चौकी भित्र पसेका थिए।
प्रहरी चौकी भित्र पनि तस्कर र स्थानीयहरु पसेर प्रहरीको भ्यान तोडफोड गर्न खोजेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी चौकी छतवाका एक जना प्रहरी हवल्दार र अर्का प्रहरी सहायक हवाल्दार गरी दुई जना प्रहरीलाई जिल्लामा ल्याएर क्वाटर गार्डमा राखी छानबिन गरिरहेको छ। वरिष्ठ सई यादवलाई भने अहिलेसम्म कुनै कारबाही नभएको आक्रमणमा परेका प्रहरीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले तस्करीको धान नियन्त्रण गर्न जिल्लाबाट खटेको प्रहरी टोली माथि आक्रमण गरिएको घटनाको छानबिनको लागि प्रहरी चौकी छतवाबाट सई यादव, हवलदार र सहायक हवल्दारलाई ल्याइएको जानकारी दिएका छन्।
प्रहरी नायब उपरीक्षक न्यौपानेले घटनाको छानबिन भइरहेको जानकारी मात्र दिए।
घटनामा दोषी देखिए चौकी इन्चार्ज श्याम यादवलाई समेत कारबाही गरिने उपरीक्षक काफ्लेले जानकारी दिए।साभार:नागरिकबाट

