
काठमाडौं,२०साउनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत गौर हत्याकाण्डका पीडितहरुलाई वार्ता समिति बनाएर न्यायका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
रौतहटको गौरमा १६ वर्षअघि भएको हत्याकाण्डको घटनाको छानबिन गरी न्यायको माग गर्दै आन्दोलनमा रहेका पिडितहरुले शनिबार काठमाडौंमा प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । पीडितहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले पीडितहरुको आन्दोलनमा सरकारको ध्यानाकर्षण भएको भन्दै पीडित परिवारलाई काठमाडौं बोलाएर त्यसबारे छलफल गरेका हुन् ।
पीडित परिवारका सदस्यहरुले शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले गृहसचिवको नेतृत्वमा यथासक्य छिटो वार्ता टोली बनाउने र ठोस सहमति गर्ने आश्वासन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्ने विषयमा आफू सकारात्मक रहेको र गृहसचिवको नेतृत्वमा वार्ता टोली बनाएर अघि बढ्ने आश्वासन दिएको संघर्ष समितिले जनाएको छ ।
घटनाको छानबिन हुनुपर्ने माग गर्दै पीडितहरु यसअघि एक सातादेखि रौतहटको चन्द्रनिगाहपुरमा धर्ना बसेका थिए । २०६३ चैत ७ गते गौरस्थित राइसमिल चौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो । मृतकका परिवारले राज्यबाट ९ महिनापछि १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाएका थिए ।
यसअघि पीडितहरुले चन्द्रनिगाहपुरमा धर्ना थालेपछि प्रधानमन्त्री कार्यालयले बिहीबारै संघर्ष समितिलाई पत्राचार गरेर वार्ता र संवादमा आउन आह्वान गरेको थियो ।साभार : इकान्तिपुर

