वीरगन्ज,१२ असारः राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा पर्साबाट तीन जनाले उम्मेदवारी दिएकोमा तीमध्ये दुई जना निर्वाचित भएका छन् ।
पर्साबाट केन्द्रिय सदस्यमा तीन जनाले उम्मेदवारी दिएकोमा दुई जना मात्रै निर्वाचित भएको रास्वपा पर्साका सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले जानकारी दिए ।
चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रिय सदस्य चयनका लागि बुधबार भएको निर्वाचनमा पर्साबाट बारा क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी, नेतृ सुनिता चौधरी र युवा नेता रामबाबु कुमार सिंहले उम्मेदवारी र्दिएका थिए ।
तीमध्ये अन्सारी र चौधरी केन्द्रिय सदस्यमा निर्वाचित भए भने सिंह पराजित हुन पुगे । अन्सारी बारा क्षेत्र नम्बर ४ को सांसद भएपनि उनि पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का स्थायी बासी हुन् ।
केन्द्रिय सदस्यमा मुस्लिम कोटाबाटद उम्मेदवारी दिएका अन्सारी १ हजार ४७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै केन्द्रिय सदस्यमा निर्वाचित चौधरी पर्साको पकहाँमैनपुर गाँउपालिका वडा नम्बर १ धोरे निवासी हुन् । केन्द्रिय सदस्यमा भुगोलतर्फ मधेस प्रदेशबाट उम्मेदवारी दिएकी उनि १ हजार ३०७ मतसहित निर्वाचित भएकी हुन् ।
केन्द्रिय सदस्यमा पराजित भएका रामबाबु कुमार सिंहले भने ३ सय ९७ मा मात्रै पाए ।केन्द्रिय सदस्यमा उनले पनि भुगोलतर्फ मधेस प्रदेशबाट उम्मेदवारी दिएका थिए ।

