Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतको उत्तराखण्डको पहिरोमा परी १६ जना नेपाली बेपत्ता

जुम्ला, १९ साउन : भारतको केदारनाथ गौरीकुण्डमा गएको पहिरोमा परी १६ जना नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरू बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरूमा जुम्ला पातारासी गाउँपालिकाका धेरै छन् । गौरीकुण्डमा रहेका तीनवटा होटल पहिरोले बगाएको छ ।

केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म १६ जना बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भयो, पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, ‘विस्तृत जानकारीको लागि सम्पर्क भइरहेको छ । नाम ठेगाना यकिन भइसकेको छैन । सबै विवरण प्राप्त भए पनि बेपत्ता हुनेहरुको नाम सार्वजनिक गर्ने तयारी गाउँपालिकाले गरिरहेको छ ।’ उनीहरू व्यापारका सिलसिलामा केदारनाथ पुगेका थिए ।

अहिलेसम्म पातरासी २ र ३ का गरी ११ जनाको मात्रै पहिचान भएको उपाध्यक्ष जुनमाया रोकायाले बताइन् । अरु बेपत्ता ५ जना नेपालीको भने पहिचान खुलेको छैन । पहिरोले होटल बगाएको भारतीय मिडिया हिलवाणीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पातारासीका अध्यक्ष, उपाध्यक्षबाटै आफूलाई जानकारी प्राप्त भएकोले घटनाबारे गृह मन्त्रालयमा समेत जानकारी पठाइसकेको बताए ।

दिल्ली दूतावासका भारतीय प्रहरीबाट प्राप्त जानकारीअनुसार १६ जना नेपाली र ३ भारतीय गौरीकुण्डबाट केदारनाथ जाने बाटोको बीचमा बिहीबार राति ११ः३० बजे पहिरोमा परी हराएको सूचना प्राप्त भएकोमा हालसम्म ३ जनाको शव भेटिएको तर पहिचान हुन नसकेको जुम्लाकी सांसद कान्तिका सेजुवालले बताएकी छन् ।साभार : इकान्तिपुर

Related posts

इजरायल-हमास युद्धमा २२ जना पत्रकारको मृत्यु ,कैंयन बेपत्ता

MadhesKhabar

सर्बियाको स्कुलमा १३ वर्षीय बालकले गोली चलाउदाँ ९ जनाको मृत्यु

MadhesKhabar

लागूऔषध मुद्दामा आर्यन खानलाई ‘क्लिन चिट’

MadhesKhabar

Leave a Comment